बर्दियामा मोटरसाइकलमा पाटेबाघको आक्रमण, एक महिला बेपत्ता
बर्दिया,१८ पुस ।
पूर्वपश्चिम राजमार्ग अन्तर्गत बर्दिया राष्ट्रिय निकुञ्जमा पर्ने अम्रेनी पोष्टदेखि ६ किलोमिटर पश्चिम कुँवाभार नजिक मोटरसाइकलमा रहेकी महिलालाई पाटेबाघले लगेको छ ।
कैलाली लम्किचुहा नगरपालिका ४ की ५० नन्दकला थापालाई पाटेबाघले झम्टेर लगेको निकुञ्जले जनाएको छ ।
आमाछोरा मोटरसाइकलमा घरतर्फ जान लागेका बेला शुक्रबार राति करिब साढे ८ बजेतिर महिलालाई पाटेबाघले आक्रमण गरेर लगेको बताइएको छ । मोटरसाइकल चलाइरहेका छोरालाई सामान्य चोट लागेको छ भने महिला अझैं फेला परेकी छैनन् ।
बाघले आक्रमण गरेको खबर पाएलगत्तै निकुञ्जको टोली र निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाले हात्तीको सहायताबाट महिलाको खोजी गरिरहेको बर्दिया निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले बताउनुभयो ।
तर अझैसम्म पनि महिलाको अवस्था पत्ता नलागेको उहाँले बताउनुभयो । अबदेखि बेलुका निकुञ्ज क्षेत्रमा पर्ने राजमार्गमा मोटरसाइकल, साइकल र पैदलयात्रुलाई हिँड्न प्रतिबन्ध लगाउने विषयमा छलफल गरिने संरक्षण अधिकृत श्रेष्ठले बताउनुभयो ।