५ वटा कोरोना भ्याक्सिन प्रयोग गर्न अनुमति, भारतको खोपले अनुमति पाउनासाथ नेपाल ल्याउने तयारी

काठमाडौं,१८ पुस ।
विश्वरव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरस बिरुद्धको अहिलेसम्म ५ वटा कोरोना भ्याक्सिन प्रयोग गर्न अनुमति पाएका छन् ।

सन् २०१९ को अन्तिम दिन चीनको उहानबाट फैलिएको कोरोना भाइरसले हाल विश्वरव्यापी महामारीको रूप लिएको छ । कोरोनाको दोस्रो तेस्रो लहर समेत शुरू भइसकेको बताइएको अवस्थामा विश्वका कतिपय देशहरूले भने खोप उत्पादन गरिरहेका छन् ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले फाइजर बायोएनटेकले उत्पादन गरेको कोरोनाविरुद्धको खोपलाई अनुमति दिइसकेको छ ।

नयाँ वर्ष २०२१ को पूर्वसन्ध्यामा संयुक्त राष्ट्र संघीय स्वास्थ्य एजेन्सी डब्लुएचओको बैठकले आपतकालीन प्रयोगका लागि फाइजर बायोएनटेकको खोपलाई अनुमति प्रदान गरेको हो ।

खोप विज्ञहरूको सुझाव र यसको सम्भावित जोखिमबारे अध्ययनपछि बेलायती कम्पनी फाइजर बायोएनटेकको खोपलाई अनुमति प्रदान गरिएको हो। डब्ल्युएचओले कोरोनाविरुद्धको खोपमा सबैको समान पहुँच हुनुपर्नेमा समेत जोड दिएको छ ।

डब्ल्युएचओका सहायक महानिर्देशक डा. मारिएन्जेला सिमाओले विश्वभरका मानिसमा खोपको पहुँच स्थापित गर्ने दिशामा महत्वपूर्ण निर्णय भएको बताएकी छन् ।

यो खोपलाई यसअघि बेलायत, अमेरिका, क्यानडा तथा केही खाडी देशहरूले अनुमति प्रदान गरिसकेका छन् । ती देशमा खोप लगाउन शुरू भइसकेको छ । साथै, अमेरिकी कम्पनी मोर्डेनाले उत्पादन गरेको खोपलाई पनि त्यहाँ अनुमति दिइएको छ ।

यस अघि रूसले निर्माण गरेको ‘स्पुतनिक भी’ खोप पनि प्रयोगमा आइसकेको छ ।

चीनले घरेलु कम्पनी सिनोफार्मले उत्पादन गरेको खोप सिनाफार्म ज्याबलाई अनुमति प्रदान गरेको छ ।

सिनोफार्मका अनुसार यो खोपको प्रभावकारिता ७९ प्रतिशत छ । सिनोफार्मको खोपलाई अनुमति दिएसँगै एसियामा फैलिएको कोरोना भाइरसको प्रभाव घटाउन यो खोप महत्वपूर्ण पाइला हुने चिनियाँ अधिकारीहरूले बताएका छन् ।

यसअघि नै सिनोफार्मले तयार गरेको कोभिड विरुद्धको खोप आपतकालीन प्रयोग अन्तर्गत ४५ लाख चिनियाँ नागरिकलाई दिइसकिएको छ । खोप दिइएकाहरूमा खासगरी स्वास्थ्यकर्मी र विदेशमा काम गर्न जाने चिनियाँ नागरिकहरू रहेका चिनियाँ स्वास्थ्य अधिकारीहरूले जनाएका छन् ।
अक्सफोर्ड यूनिभर्सिटी र एस्ट्राजेनेकाले बनाएको अर्को खोपले बेलायतमा प्रयोग अनुमति पाएको छ ।

उक्त खोपलाई धेरै कम तापक्रममा भण्डारण गर्नुपर्ने बाध्यता नभएकाले निकै उपयोगी हुने अपेक्षा गरिएको छ । बेलायत सरकारले यो खोपका १० करोड मात्रा झिकाइसकेको छ ।

यसअघि डिसेम्बरको शुरूतिर फाइजर बायोएन्टेकले बनाएको खोप कोभिड १९ विरुद्ध प्रयोग हुन थालेको थियो । बेलायतमा प्रयोगका लागि अनुमति पाउने यो दोस्रो खोप हो ।

भारतले पनि कोभिड १९ को खोपलाई छिट्टै अनुमति दिने भएको छ । भारतको ड्रग कन्ट्रोलर जनरल अफ इन्डियाले प्रयोगको अनुमति दिने अन्तिम तयारीमा रहेको बताइएको छ ।

सेरम इस्टिच्युट अफ इन्डिया र भारत बायटेकले आपतकालीन प्रयोगका लागि अनुमति लागि यस अगाडि नै दुई पटक निवेदन दिइसकेको छ ।

दुई कम्पनीले सुरक्षा र प्रभावकारी सम्बन्धी पर्याप्त प्रमाणहरू पेस नगरेका कारण अनुमतिमा केही ढिलाइ भएको बताइरहेको छ।

सेरमले आष्ट्राजेनिकासँग अक्सफोर्डको भ्याक्सिन ल्याउन साझेदारी गरेको छ। वेलायतमा सो भ्याक्सिनले प्रयोगका लागि अनुमति पाइसकेको छ ।

भारतमा अनुमति पाउनासाथ नेपालका पनि आपतकालीन प्रयोगका लागि ल्याउन सरकारले पहल गरिरहेको बताइएको छ ।

You might also like