ओली कदम विरुद्ध प्रचण्ड माधव समूहद्वारा दोस्रो चरणको १ महिना बढीको आन्दोलनका कार्यक्रम घोषणा
काठमाडौं १८ पुस,
संसद विघटनको विरोधमा नेकपा प्रचण्ड माधव समूहले दोस्रो चरणको आन्दोलन घोषणा गरेका छन ।
संसद विघटनपछि सडकमा आएको प्रचण्ड माधव समूहले नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) सँग मिलेर संयुक्त आन्दोलन घोषणाको प्रयास गरेको थियो । तर कांग्रेस नेतृत्वले केन्द्रीय कार्यसमिति बैठक नसकिएको भन्दै संयुक्त आन्दोलनमा रुची देखाएन ।
प्रचण्ड माधव समूहका केन्द्रीय संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठ प्रकाशले भने, ‘यो असंवैधानिक कदम हो भन्नेमा हाम्रो समान धारणा रहृयो, तर कांग्रेसले केन्द्रीय कमिटी बैठकले निर्णय नगरेका कारण संयुक्त संघर्षको स्थिति रहेन ।’
आआफ्नो कार्यक्रम जारी राख्ने र संयुक्त रुपमा प्रहार गर्ने समझदारी भएको श्रेष्ठले बताए ।
साथै उनले संवैधानिक अंगहरुलाई दबावमा राखेर काम गर्ने स्थिति नहोस् भनेर खबरदारी गरे ।
‘स्वतन्त्र ढंगले काम गर्ने वातावरण होस् । हस्तक्षेप र दबाव नहोस्’ उनले भने, ‘हाम्रो सेटिङमा काम गर्छन् भनेर संवैधानिक अंगका पदाधिकारीलाई अपमानित गर्ने स्थिति नहोस् भनेर वातावरण बनाउन चाहन्छौं ।’
प्रचण्ड माधव समूहको प्रतिगमन विरोधी केन्द्रीय संघर्ष समितिले शनिबार पत्रकार सम्मेलन गरी पुस २० देखि माघ २३ गतेसम्मका आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ ।
घोषित कार्यक्रममा प्रधानमन्त्रीलाई संविधानको पुस्तक दिनेदेखि सबै तहमा प्रदर्शन गर्नेसम्म छन् ।
२४ पुसमा सबै जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई विरोध पत्र र संविधानको पुस्तक दिने र राष्ट्रका नाममा क्षमायाचना गरी गलत कदम सच्याउन अनुरोध गर्ने प्रचण्ड माधव समूहले बताएको छ ।
आन्दोलनका कार्यक्रम यस प्रकार छन ।
पुस २० गतसम्म पालिका स्तरमा र २५ गतेसम्म वडा स्तरमा पार्टी भेला र संघर्षसम्बन्धी अभिमुखीकरण कार्यक्रम ।
पुस २५ गतेसम्म प्रदेश, जिल्ला, पालिका र वडा स्तरमा संघर्ष समिति गठन ।
पुस २१ गते संघीय राजधानी र विभिन्न शहरी केन्द्रहरुमा राजनीतिक पार्टीहरुसँग अन्तरक्रिया ।
पुस २३ गते नागरिक समाजसँग अन्तरक्रिया ।
पुस २४ गते सबै जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई विरोध पत्र र संविधानको पुस्तक दिने र राष्ट्रका नाममा क्षमायाचना गरी गलत कदम सच्याउन अनुरोध गर्ने ।
पुस २६ गते सडक संविधान वाचन व्याख्या कार्यक्रम ।
पुस२७ गते सुदूरपश्चिम, लुम्बिनी र प्रदेश १, २८ गते प्रदेश २, गण्डकी र कर्णाली तथा २९ गते बाग्मतीमा बृहत कार्यकर्ता भेला ।
पुस२८ गते घरघरमा पर्चा वितरण, गाउँटोलमा कालो झण्डा गाड्ने र असंवैधानिक एवं प्रतिगामी कदमविरुद्ध सबै वडामा व्यानर राख्ने ।
पुस२९ गते निर्वाचन क्षेत्रस्तरयि कार्यकर्ता भेला ।
पुस ३० गते सबै वडामा विरोध प्रदर्शन र सभा ।
माघ ५ गते सबै पालिकाहरुमा विरोध प्रदर्शन र सभा ।
माघ १० गते राजधानी लगायतका सबै शहरी केन्द्रहरुमा मोटरसाइकल ¥याली ।
माघ १६ गते प्रदेश १, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा र १७ गते प्रदेश २ मा विरोध सभा ।
माघ २२गते वडा तहमा मसाल जुलुस ।