बैशाखमा चुनाव हुनै सक्तैन ः घनश्याम भुसाल

चुनाव गर्नका लागि नभएर संसद बिघटन गर्ने बहाना मात्रै
नवलपरासी पूर्व २० पुस ।
नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड–नेपाल पक्षका नेता घनश्याम भुसालले बैशाखमा कुनै हालतमा निर्वाचन हुनै नसक्ने बताउनु भएको छ ।

भुसालले मध्यावधि निर्वाचन गर्नका लागि नभई संसद बिघटन गर्ने बहाना मात्रै भएकोले बैशाखमा कुनै हालतमा निर्वाचन हुनै नसक्ने बताउनुभयो ।
निर्वाचनमा जाने प्रक्रिया र बाटो नै गलत रोजिएकाले बैशाखमा निर्वाचन हुने कुरा पत्याउनै नसकिने भुसालको भनाई थियो ।

पुर्वी नवलपरासीको देवचुलीमा सोमबार आयोजित जिल्लास्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै निवर्तमान कृषि तथा पशुपंंक्षी विकासमन्त्री समेत रहेका भुसालले भन्नुभयो, ‘निर्वाचन गर्नका लागि निर्वाचन घोषणा गरिएको होइन, बैशाखमा निर्वाचन हुन्छ भनेर कसैले पत्याउँछ र ?’ उहाँले बैशाखअघि नै प्रतिनिधिसभा पुनर्स्थापना हुने दाबी समेत गर्नुभयोे ।

पूर्वराजा ज्ञानेन्द्रले विघटन गरेको संसदसमेत पुनर्स्थापित भएको स्मरण गर्दै भुसालले अहिले पुर्नस्थापना नहुने प्रश्नै नआउने उल्लेख गर्नुभयोे ।

पार्टीका सबै कमिटी र संसदीय दलमा अल्पमतमा परेका ओलीले असंवैधानिक रुपमा संसद विघटन गरेको आरोप लगाउदै उहाँले असंवैधानिक रुपमा विघटन गरिएको संसद अदालतले पुनर्स्थापित गर्ने विश्वास व्यक्त गर्नुभयोे ।

प्रधानमन्त्रीतर्फ संकेत गर्दै भुसालले जसले संसद विघटन गर्याे उसैले निर्वाचन गर्छु भन्नुले पनि चुनाव हुने कुरा पत्याउनै नसकिने बताउनुभयो ।
तत्काल संसद पुनर्स्थापना नभए मुलुकमा अस्थिरता पैदा हुन सक्ने उहाँको भनाई थियो ।

You might also like