संसद पुनःस्थापनाको विकल्प छैन ः घनश्याम भुसाल

पुनःस्थापना नभए देश अस्थिरतामा फस्ने
बुटवल, २२ पुस ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य घनश्याम भुसालले संविधान, संघीय लोकतान्त्रिक गणतन्त्र लगायतका आन्दोलनका उपलब्धी रक्षाका लागि प्रतिनिधि सभा पुनस्थापनाको विकल्प नभएको बताउनुभएको छ ।

प्रतिनिधि सभा पुनःस्थापना नभए देश अस्थिरता र अराजकताको दुस्चक्रमा फस्ने बताउदै नेता भुसालले संसद पुनःस्थापनामा ढिलाई गर्न नहुनेमा जोड दिनुभयो ।
संसद विघटनसम्बन्धी मुद्दामा अदालतले जति ढिलाई गर्छ मुलुकलाई राजनीतिक,आर्थिक,सामाजिक रुपमा त्यति बढी क्षति हुने नेता भुसालले औंल्याउनुभयो । ‘संसद पुनःस्थापना गर्न नसक्ने हो भने संविधान उल्लंघन बढ्छ,संविधानविरोधी सल्बलाउंछन्–भुसालले भन्नुभयो–‘संसद पुनःस्थापना हुंदा मात्रै संविधानको रक्षा हुन्छ र मुलुक सही ट्रयाकमा फर्किन्छ ।’

प्रतिनिधि सभा विघटन सम्बन्धी मुद्दामा सर्वोच्च अदालतले किन ढिलाई गरिरहेको भन्ने प्रश्न समेत गर्नुभयो ।
प्रतिनिधि सभा विघटनको मुद्दा प्रथम दृष्टिमै असंवैधानिक र बदरभागी हुंदाहुंदै पनि अदालतले ढिलाई गर्नुले अदालतमाथि प्रश्न उठ्ने उहाँको भनाई थियो । ‘प्रतिनिधि सभा विघटन अदालती व्यवस्था अनुसार प्रथम दृष्टिमै असंवैधानिक र बदरभागी छ भन्ने देखिन्छ’–प्रेस संगठन रुपन्देहीले तिलोत्तमामा प्रतिनिधि सभा विघटन सम्बन्धी गरेको अन्तरक्रियामा नेता भुसालले भन्नुभयो–‘प्रधानमन्त्री र राष्ट्रपतिको निर्णय संविधानको बर्खिलाप छ,लोकतन्त्र,वामपन्थ,समाजवाद विरुद्धको प्रतिगामी र सर्वसत्तावादी कदम हो तर अदालतमा किन ढिलाई हुंदैछ ?’

नाकाबन्दीमा ओलीले लिएको अडान र अरु सन्दर्भ गांसेर संसद विघटनलाई पनि ठीक हो भन्ने पुष्टी गर्ने कोशिस भएको भन्दै भुसालले मिडिया, नागरिक समाज र बुद्धिजिवीले यसलाई चिर्नुपर्ने बताउनुभयो । प्रधानमन्त्री ओली पक्षले सत्ताको दुरुपयोग गरी विभिन्न प्रलोभन देखाएर सांसद किनबेचको खेलमा लागेर गणतन्त्रलाई नै विकृत बनाएको आरोप लगाउनुभयो ।

अन्तरक्रियामा पुर्व सभासद विनोद पहाडी,नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य बसन्त गिरी,अग्रज पत्रकार बालकृष्ण चापागाई,तिलोत्तमा नगरपालिकाका प्रमुख बासुदेव घिमिरे,नेकपा रुपन्देहीका सचिव निर्मल जीसी, पत्रकार महासंघ रुपन्देही अध्यक्ष यानेन्द्र जीसी, प्रेस संगठनका केन्द्रीय सदस्य, बिन्दु चौहान, रुद्रहरी कुँवर, लुम्बिनी प्रेस क्लबका अध्यक्ष नरेश केसी, पत्रकार महासंघ रुपन्देहीका सहसचिव कमल रायमाझीले संसद विघटन असंवैधानिक र प्रतिगामी कदम भएकाले पुनस्थापनाका लागि सशक्त आन्दोलनमा जानुपर्नेमा जोड दिएका थिए ।

You might also like