नेकपाका दुवै पक्षको सूर्यमा दाबी, समस्यामा निर्वाचन आयोग

काठमाडौं २४ पुष
नेकपाका दुवै पक्षले आफूहरु नै आधिकारिक रहेको जिकिर गर्दै पार्टीको नाम, झण्डा र चुनाव चिह्न आफूले दाबी गर्नु नपर्ने बताएका छन् ।
यसले गर्दा आयोगलाई नेकपाको आधिकारिकताको विवाद निरुपण गर्न अप्ठ्यारो परेको छ ।
राजनीतिक दलसम्बन्धी ऐन २०७३ ले पार्टीको आधिकारिकता सम्बन्धी विवाद हुँदा आ–आफ्नो आधार र प्रमाणसहित आयोगमा पेस गर्नुपर्ने प्रावधान रहेको छ । दुवै पक्षले आफूहरु नै आधिकारिक रहेको भन्दै दाबी नगरेपछि विवाद निरुपणको प्रक्रियाअनुरुप कसरी अघि बढ्ने भन्ने आयोग सकसमा परेको बुझिएको छ ।
प्रचण्ड–माधव पक्षले निर्वाचन आयोग समक्ष बुधबार आफ्नो दलको अध्यक्ष बाहेक अरु यथावत् रहेकाले केही दाबी गर्न नपर्ने भनाइ अघि सारेको छ । केपी ओली पक्षले पनि आफूहरु नै नेकपाको आधिकारिक रहेकाले कुनै दाबी गरिरहन नपर्ने भनाइ राख्दै आएको छ । आयोगले नेकपा प्रचण्ड–माधव पक्षलाई पार्टीको नाम, झण्डा र चुनाव चिह्न (सूर्य)बारे दाबी पेस गर्न दिएको सातदिने म्याद बिहीबार सकिएको छ । त्यसको एक दिनअघि बुधबार प्रचण्ड–माधव पक्षले आयोगको पत्रको जवाफ पठाएको थियो ।

You might also like