संसद पुनर्स्थापनाको माग गर्दै डा. केसी पनि सडकमा

काठमाडौं,२५ पुस ।
प्रतिनिधिसभा विघटन तथा सरकारको स्वेच्छाचारी कदमको विरोधमा राजधानी काठमाण्डौमा नागरिक प्रदर्शन भएको छ ।

संविधानवादको रक्षा, प्रतिनिधिसभा पुनर्स्थापना र ओली सरकारको स्वेच्छारी कदम अन्त्यको माग गर्दै उनीहरूले शनिबार माइतीघर मण्डलामा विरोध प्रदेश गरेका हुन् ।
प्रदर्शनमा डा. गोविन्द केसी लगायतका नागरिक अगुवाहरु ‘प्रतिनिधिसभा मार्न पाइदैन, निरंकुश सरकार चाहिँदैन’ भन्ने प्लेकार्ड सहित प्रदर्शनमा सहभागी भएका थिए ।

त्यसक्रममा निषेधित क्षेत्रमा बसेको भन्दै डा. केसी लगायतलाई प्रहरीले त्यहाँबाट हटाएको थियो ।

कार्यक्रममा सम्बोधन गर्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले प्रतिनिधिसभा सदस्य नरहेकाले केपी शर्मा ओली अवैध प्रधानमन्त्री भएको बताउनुभयो । ओलीले संविधान र लोकतन्त्रलाई अपहरण गरेको त्रिपाठीको आरोप छ ।

अधिवक्ता ओमप्रकाश अर्यालले संविधानवाद र लोकतन्त्र रक्षाका लागि संसद पुनस्र्थपना हुनुपर्नेमा जोड दिनुभयो । संसद बिघटनसँगै नेपालको संविधान र लोकतन्त्र धरापमा परेको उहाँले बताउनुभयो ।

प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ५ पुसमा प्रतिनिधिसभा विघटन गर्नुभएको थियो । संसद बिघटन बिरुद्ध देशव्यापी विरोध प्रदर्शन भैरहेका छन भने त्यस बिरुद्ध सर्वोच्च अदालतमा एक दर्जन बढी रिट दर्ता भएका छन् ।

You might also like