ट्रम्पलाई राष्ट्रपतीबाट हटाउने प्रस्ताव अमेरिकी तल्लो सदनबाट पारित

काठमाण्डौ,२९ पुस ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पदबाट हटाएर उपराष्ट्रपतिलाई सक्रिय बनाउने प्रस्ताव अमेरिकी संसद्को तल्लो सदन हाउस अफ रिप्रिजिन्टेटिभ्सले पारित गरेको छ ।

२५ औं संशोधनमार्फत् ट्रम्पलाई हटाउन लागिएको हो ।

यससँगै तल्लो सदनकी सभामुख नेन्सी पेलोसीले ट्रम्पलाई उपराष्ट्रपतिले नहटाए महाभियोग लगाएर हटाउने बताउनुभएको थियो । यससँगै तल्लो संसद्मा ट्रम्पविरुद्ध दोस्रोपटक महाभियोगको प्रस्ताव पेश गरिएको थियो ।

ट्रम्पलाई महाभियोग लगाउने प्रस्तावबारे तीव्र गतिमा काम भइरहेको समयमा तल्लो सदनले राष्ट्रपति ट्रम्पलाई हटाउने प्रस्ताव पारित गरेको हो । बुधबार तल्लो सदनमा राष्ट्रपतिमाथि महाभियोगबारे पनि मतदान हुनेछ । गत साता अमेरिकाको संसद् भवनमा हिंसात्मक प्रदर्शनको लागि मानिसहरुलाई भड्काएको आरोपमा उहाँमाथि महाभियोग प्रस्ताव दर्ता गरिएको हो ।

यसअघि डेमोक्रेटिक पार्टीका नेताहरुले उपराष्ट्रपति माइक पेन्सलाई २५ औं संशोधनअनुसार आफ्नो अधिकार प्रयोग गरी ट्रम्पलाई पदबाट हटाउन आग्रह गरेका थिए । अमेरिकाको तल्लो सदनमा ट्रम्पलाई हटाउँदै उपराष्ट्रपति पेन्सलाई सक्रिय बनाउने विषयमा मतदान हुनुभन्दा केही समयअघि पेन्सले तल्लो सदनलाई पत्र पठाउँदै यो योजनामा आफू सहमत नरहेको बताउनुभएको थियो ।

You might also like