प्रधानमन्त्री कप क्रिटेक छनौटमा रुपन्देही च्याम्पियन
भैरहवा १ माघ
रुपन्देहीको भैरहवामा सम्पन्न प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता पुरुषतर्फको लुम्बिनी प्रदेश स्तरीय छनौट खेलमा रुपन्देही प्रादेशिक च्याम्पियन बनेको छ । बिहीबार सिद्धार्थ रंगशालामा भएको खेलमा बाँकेलाई १०७ रनको फराकिलो अन्तरले पराजित गर्दै रुपन्देही च्याम्पियन भएको हो । बाँकेले उपविजेतामा चित्त बुझायो ।
टस जितेर ब्याटिङ गरेको रुपन्देहीले निर्धारित ४० ओभरको खेलमा ८ विकेट क्षतिमा १८७ रनको योगफल बनाएको थियो । उसका लागि संदीप रजालीले सर्वाधिक ८९ रनको योगदान गरे । यस्तै, प्रकाश केसीले ३५, कृष्ण कार्कीले १९ र विक्रम भुसालले १४ रन बनाए । बलिङमा बाँकेका अजय साहनी र आकाश विष्टले ३÷३ तथा दीपेन्द्र राउत, सिद्धान्तराज साहीले १÷१ विकेट लिए ।
जवाफी ब्याटिङ गरेको बाँके २६ दशमलब ३ ओभरमा सबै विकेट गुमाएर ८० रनमै समेटियो । उसका लागि रमेश सिंहले १९ र सुविन्द्र पाण्डेले १० रन बनाए पनि अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । बाँकेलाई सस्तैमा रोक्न रुपन्देहीका अनिल खरेलले ५ विकेट लिए । यस्तै, नितेश थापाले २, धिरज साही, कृष्ण कार्की र दुर्गेश गुप्ताले समान १÷१ विकेट लिए । रुपन्देहीका संदीप रजाली म्यान अफ द फाइनल भई ५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे भने रुपन्देहीकै विक्रम भुसाल म्यान अफ द सिरीज भई १० हजार रुपैयाँ प्राप्त गरे । विजेता र उपविजेता टिमलाई नेपाल क्रिकेट संघका पूर्व केन्द्रिय सदस्य आशा गुरुङ लगायतले ट्रफी र प्रमाणपत्र प्रदान गरेका थिए । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीहरु छनौट गरी माघ ३ गतेबाट काठमाडौंमा हुने प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेटका लागि लुम्बिनी प्रदेशस्तरीय टिम छनौट गरिने छ ।