संसद बिघटन नेताको जुँगाको लडाइ मात्रै नभएर राष्ट्रिय अन्तराष्ट्रिय षडयन्त्र छ ः महासचिव सुर्यवंशी

चुनावमा जाने भए जेष्ठ राष्ट्रिय सभा सदस्यको नेतृत्वमा सर्वदलीय सरकार गठन गरेर चुनावको नयाँ मिति तोक्नुपर्नेमा जोड

बुटवल,३ माघ ।
राष्ट्रिय जनमुक्ति पार्टीका महासचिब केशव सुर्यवंशी मगरले संसद बिघटन प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको जुँगाको लडाई मात्रै नभएर राष्ट्रिय अन्तराष्ट्रिय षडयन्त्र भएको बताउनुभएको छ ।

नेपालमा द्धन्दको बिउ रोप्ने उदेश्यले संसद बिघटन गरिएको बताउदै उहाँले यसलाई पदको भागबण्डा र जुँगाको लडाइको रुपमा मात्रै बुझ्नु गलत हुने बताउनुभयो ।

संसद बिघटनको बिरोधमा राष्ट्रिय जनमुक्ति पार्टी लुम्बिनी प्रदेश समितिद्धारा शनिबार बुटवलमा आयोजित बिरोध तथा खबरदारीसभालाई सम्बोधन गर्दै महासचिव सुर्यवंशी मगरले उक्त कुरा बताउनुभएको हो ।

हुँदा खाँदाको बहुमतको सरकार चलाउन छाडेर चुनावको घोषणा गर्नु आफैमा गलत भएको भन्दै उहाँले चुनाव गराउनेनै हो भने राष्ट्रिय सभाका जेष्ठ सदस्यको नेतृत्वमा सर्वदलीय सरकार गठन गरेर चुनावको नयाँ मिति तोक्नुपर्नेमा जोड दिनुभयो ।

तत्कालिन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच भएको पार्टी एकतालाई जनमुक्ति पार्टीले बाम एकता नभएर खाम एकताको संज्ञा दिएको स्मरण गर्दै महासचिव सुर्यवंशी मगरले आफुहरुको दाबी ३ बर्षमै सावित भएको दाबी गर्नुभयो ।

जनतालाई खोक्रो राष्ट्रवादको झुठो नारा दिएर नेकपाले दुइ तिहाई नजिक बहुमत प्राप्त गरेको भन्दै उहाँले भएका उद्योग बन्द गरेर समृद्धिको कुरा गर्नु जनतालाई बेवकुफ बनाउनु बाहेक केही नभएको बिचार व्यक्त गर्नुभयो ।

आफुलाई श्रमजिवि जनताको पार्टी बताउने नेकपाको बर्तमान सरकारले नेपालको कृषिमा समेत बहुराष्ट्रिय कम्पनीलाई जिम्मा दिएर नेपाली किसानहरुलाई बहुराष्ट्रिय कम्पनीका कामदारमा परिणत गर्न लागेको बताउनुभयो ।

राष्ट्रिय जनमुक्ति पार्टी लुम्बिनी प्रदेश अध्यक्ष झमबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पार्टीका उपाध्यक्ष डा.हाजिहशन महमद मुसलमान,पार्टी उपाध्यक्ष तथा महिला इन्चार्ज कमला थापा,जनमुक्ति युवा महासंघका अध्यक्ष शंकर गाहा,राष्ट्रिय दलित मुक्ति मोर्चाका केन्द्रीय सह संयोजक हरीओम बिके,पार्टीका रुपन्देही अध्यक्ष प्रेमबहादुर थापा लगायतले बोल्दै संसद बिघटन असंवैधानिक भएको भन्दै बिरोध गरेका थिए ।

You might also like