भारतमा पहिलो दिनमै झण्डै दुई लाख जनाले कोरोना विरुद्धको खोप लगाए

काठमाण्डौ,४ माघ ।
भारतमा शनिबार पहिलो दिनमै झण्डै दुई लाख जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । त्यहाँको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार कारोना विरुद्धको खोप अभियान अन्तर्गतको पहिलो दिन शनिबार एक लाख ९१ हजार भन्दा धेरैले खोप लगाएका छन् ।

शनिबार ३ हजार ३ सय ५१ केन्द्रबाट कोभ्यासिक्न र कोभिसिल्ड दुवै खोप दिइएको थियो । कोरोना विरुद्धको खोप लगाएपछि केहीलाई एलर्जी भएको बीबीसी हिन्दीले जनाएको छ । तर, त्यहाँको स्वास्थ्य मन्त्रालयले भने खोप लगाएका कसैलाई पनि स्वास्थ्य समस्या नभएको र अस्पताल भर्ना पनि नभएका दाबी गरेको छ ।

भारतले पहिलो चरणमा प्राथमिकतामा परे अनुसार डाक्टर, स्वास्थ्यकर्मी र सरसफाईका कर्मचारी लगायत अंग्रपक्तिमा काम गर्नेलाई खोप दिन थालेको जनाएको छ । अहिलेसम्म भारतमा एक करोड ५ लाख भन्दा धेरैलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने एक करोड एक लाख भन्दा धेरै कोरोना संक्रमित निको भएका छन् । भारतमा एक लाख ५२ हजार भन्दा धेरै कोरोना संक्रमितको मृत्यु भएको छ ।

You might also like