मौसम सफा हुन अझै केही दिन लाग्ने

काठमाडौँ,४ माघ ।
मौसम सफा हुन अझै केही दिन लाग्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । देशका केही स्थानमा आंशिकदेखि सामान्य बदली रहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार उत्तरी बंगलादेश र आसपासमा बनेको न्यून चापीय प्रणालीको प्रभावका कारण देशका पूर्वी भुभागका केही स्थानमा आंशिकदेखि सामान्य बदली भएको हो ।

उक्त प्रणालीको प्रभाव अझै दुई तीन दिन कायम रहने भएकाले मौसम पूर्णरुपमा सफा हुन केही दिन लाग्ने भएको जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् निराजन सापकोटाले बताउनुभयो ।

तत्काल वर्षा हुने सम्भावना भने नरहेको उहाँका भनाइ छ । वर्षा हुने उल्लेखनीय मौसमी प्रणाली देशभर नै नरहेकाले वर्षाको सम्भावना नभएको मौसम विज्ञान विभागले जनाएको छ ।
वर्षा हुनका लागि पर्याप्त मात्रामा जलवाष्पयुक्त हावा प्रवेश हुनुपर्दछ । अहिले त्यो भएको छैन ।

गत वर्ष डिसेम्बर वा जनवरीभित्रै हिउँदे वर्षा भएको थियो । यसवर्ष अहिलेसम्म हिउँदे वर्षा हुनसकेको छैन् । मंसिर, पुस र माघ महिनामा ३.५ प्रतिशत वर्षा हुने गर्दछ । यस वर्ष माघ सुरु भइसक्दा पनि हिउँदे वर्षा भएको छैन ।

You might also like