टिपरलाई पुन ः टाइम कार्ड लागू, ओभरलोड बोक्नेलाई जरिवाना मात्रै

बुटवल,५ माघ ।
लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालयले दुर्घटना न्यूनिकरण तथा ट्राफिक व्यवस्थापनका लागि पुन ः टाइम कार्ड लागू गर्ने भएको छ ।

पाल्पाको दोभानदेखि बुटवलको धागो कारखाना, धागो कारखाना रामनगरदेखि सुनवल तथा दोभानदेखि भैरहवा अंञ्चलपुरसम्म टिपरका लागि पुन ः टाइम कार्ड लागू गरेको हो ।

टाइम कार्ड लागूभएपछि दोभानदेखि धागोकारखाना रामनगरसम्मको ११ किलोमिटर दुरी प्रतिघण्टा २० किलोमिटरको गतीमा ३३ मिनेट समयमा पुग्नु पर्ने छ ।

यसैगरी धागो कारखानादेखि सुनवलसम्मको २३ किलोमिटर दुरीमा प्रतिघण्टा ३० किलोमिटरको गतीमा ४६ मिनेट तथा दोभानदेखि भैरहवा अंञ्चलपुरसम्मको २८ किलोमिटर दुरीका लागि प्रतिघण्टा ३० किलोमिटरको गतीमा ५६ मिनेटको समय तोकिएको छ ।

यस क्षेत्रमा सञ्चालनमा रहेका टिपरले अनिवार्य रुपमा टाइमकार्ड प्रयोग गरी चेक प्वाइन्टहरुमा देखाउनु पर्ने लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलले सोमबार आफ्नै कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरी टाइम कार्ड र ट्राफिक प्रहरीका अन्य गतिबिधिबारे जानकारी गराएको हो ।

कार्यक्रममा लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रमुख,प्रहरी उपरिक्षक डम्मर बहादुर बि.क.ले टाइम कार्ड लागू भएसँगै दुर्घटना न्यूनिकरणमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

टाइमकार्ड लागूसँगै ट्राफिक व्यवस्थापन तथा दुर्घटना न्यूनिकरणका लागि बुटवल–भैरहवा लगायतका सडकमा सवारीका साधनहरुको लेन प्रयोग सम्बन्धि सचेतना अभियान सञ्चालन गरिने प्रहरी उपरीक्षक बिकले जानकारी दिनुभयो ।
यसअघि मधुसुदन लुइटेलको कार्याकालमा लागु भएको टाइमकार्ड कोरोना संक्रमणको जोखिमका कारण भएको लकडाउनभएसँगै निस्क्रिय भएको टाइमकार्ड पुन सुरु गर्न लागिएको हो ।

ओभरलोड बोक्ने टिपर तथा भारतीय नम्बर प्लेटका सवारी साधनहरुलाई कारबाही नगरिएको बिषयमा पत्रकारहरुले राखेको जिज्ञासमा प्रहरी उपरीक्षक बिकले ओभरलोड बोक्नेलाई जरिवाना तिराउनेबाहेक ट्राफिक प्रहरीलाई अरु अधिकार नभएको प्रतिक्रिया दिनुभयो

टाइमकार्ड सँगै ६ लेन सडकमा यात्रुबाहक सवारी साधन तथा मालवहाक सवारी साधनहरुले आफ्नो गतीअनुसरा प्रयोग गर्ने लेनका बारेमा प्रयोग गर्न सिकाइने उहाँले बताउनुभयो । विभिन्न ठाउँमा सडकको प्रयोग तथा नियम बारे भिडियो तथा होर्डिङ बोर्डहरु राखी सचेतना फैलाउनुका साथै नियम विपरित जानेलाई कारबाही गरिने वि.क.को भनाई छ ।

यसैबीच लुम्बिनी प्रदेशमा पछिल्लो ६ महिनाको अवधिमा सवारी दुर्घटनामा वृद्धि भएको छ । ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्क अनुसार गत वर्षको साउन देखि पुस मसान्तसम्म ६ महिनाको अवधिमा ५६६ सवारी दुर्घटना भएकोमा चालु आर्थिक वर्षको साउन देखि पुस मसान्तसम्म ६३७ दुर्घटना भएका छन् । यो संख्या अघिल्लो वर्षको अवधिको भन्दा १२ दशमलव ५४ प्रतिशतले बढी हो ।

प्रदेशमा गत वर्षको अघिल्लो ६ महिनामा २७६ जनाले सडक दुर्घटनामा ज्यान गुमाएकोमा चालु वर्षको ६ महिनामा २५६ जनाले ज्यान गुमाएको ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्कमा जनाइएको छ ।

ट्राफिक कार्यालयको तथ्याङ्क अनुसार सडक दुर्घटनामा परी गत वर्षको अघिल्लो ६ महिनामा ८८१ जना घाइते भएकोमा चालु वर्षको पछिल्लो ६ महिनाको अवधिमा ९२४ जना घाइते भएका छन् । यो संख्या अघिल्लो वर्षको तुलनामा ४ दशमलव ८८ प्रतिशतले बढी हो ।

You might also like