नदी सभ्यता जोगाई जलचर, स्थलचर सुक्ष्म प्राणीहरुको संरक्षणका लागि तिनाउ नदी सरसफाइ अभियान सुरु

बुटवल, ५ माघ ।
लुम्बिनी प्रदेशको मुख्य नदी तिनाउ नदीको सभ्यता जोगाई जलचर, स्थलचर सुक्ष्म प्राणीहरुको संरक्षणका लागि तिनाउ नदी सरसफाइ अभियान सुरु भएको छ ।

कार्यक्रममा मानवाधिकार तथा शान्ती समाज केन्द्रिय वरिष्ठ उपसभापति गोविन्द खनालले नदिको सभ्यतासँग मानवीय विकासको सभ्यता जोडिएकोले नदिहरुलाई सरसफाइ राख्न जरुरी रहेको बताउनुभयो ।

विश्वभर प्रदुषण बढीरहेको र यसले तापक्रम वृद्धि भई कतिपय जलचर, स्थलचर सुक्ष्म प्राणीहरुको लोप भएको भन्दै उहाँले तापमान घटाउन राज्यले वातावरणमैत्री कार्यक्रमहरु गर्नुपर्नेमा जोड दिनुभयो ।

नेपाल प्राद्यापक संघका केन्द्रिय अध्यक्ष गोपाल पाण्डे, नागरिक समाज रुपन्देहीका अध्यक्ष क्याप्टेन रमेश बहादुर केसी लगायतले बागमती नदीलाई जस्तै तिनाउ नदीलाई पनि स्वच्छ बनाउन सबै लाग्नुपर्ने आवस्यकता औल्याउनुभयो ।

कार्यक्रममा जलचर प्राणीहरुको बाच्न पाउने अधिकार स्थापित गर्न र तिनाउ नदीको स्वच्छता र सुन्दरताका लागि अभियान संचालन गरिएको कार्यक्रमका संयोजक वुमन केयर नेपाल रुपन्देही अध्यक्ष रिता केसीले बताउनुभयो ।

मानवअधिकार तथा शान्ती समाजका रुपन्देही अध्यक्ष एवं कार्यक्रमका सहसयोजक डिपी खनालले नदिजन्य प्राणीहरुको स्वच्छतापूर्वक बाच्न पाउने अधिकार सगै नदीलाई बिनाहस्तक्षेप बग्न र स्वच्छ बनाउन यो अभियान चलाईएको र अभियान निरन्तर चल्ने जानकारी दिनुभयो ।
नदी सरसफाइ अभियानमा मानवअधिकार तथा शान्ती समाज रुपन्देही शाखा, वुमन केयर नेपाल, किवानीज क्लब बुटवल, घरघरमा हामी, इनरह्विल मिटटाउन क्लब बुटवल, नागरिक समाज रुपन्देही,लायन्स क्लब अफ बुटवल क्यापिटल लगायतका संस्थाहरुले सहकार्य गरेका छन् ।

आदीमानव रामापिथेकसको बङ्गारा भेटिएको नदीकिनारको सभ्यता जोगाउने र नदीलाई नियमित सरसफाइ गरि जलचर प्राणीको अस्तित्व जोगाउन अभियान सुरु गरिएको अभियानकर्ताहरुले बताएका छन् ।

You might also like