संसद विघटनपछि नेपालमा विदेशी शक्ति केन्द्रहरुको चलखेख बढ्यो ः–चित्रबहादुर

‘पद र सत्ता स्वार्थका काराण संसद विघटन’

बुटवल,५ माघ ।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संसद विघटन भएसंगै नेपालमा विदेशी शक्ति केन्द्रहरुको चलखेख बढेको बताउनुभएको छ ।

मुलुकमा हाल भारत, अमेरिका र युरोपियन युनियनको चलखेल बढेको दावी गर्दै केसीले अहिलेको अवस्थामा संसद विघटन देश र जनताको हितविपरित रहेको बताउनुभयो ।

राष्ट्रिय जनमोर्चा रुपन्देहीले सोमवार बुटवलमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा बोल्दै अध्यक्ष केसीले पछिल्लो राजनीतिक घट्नाक्रम विदेशी शक्ति केन्द्रहरुको इसारामा भएको दावी गर्नुभयो ।

सत्तासिन दलका नेताहरुको स्वार्थका कारण संसद विघटन भएको बताउदै उहाँले ओली र प्रचण्डको स्वार्थ पुरा नहुंदा देश दुर्घटनातर्फ उन्मुख भएको आरोप लगाउनुभयो ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विभाजन सत्ता, शक्ति, स्वार्थ, महत्वकांक्षा र पद बांडफांड नमिलेका कारण भएको केसीको दाबी छ ।

उहाँले सिद्धान्त, नीति र विचारका आधारमा एकता नभएकाले छोटो समयमै नेकपामा विवाद आएको धारणा राख्नुभयो ।

उहांले सर्वोच्च अदालत समेत निष्पक्ष हुन नसक्नु दुखद पक्ष भएको भन्दै संवैधानिक इजलास गठन गर्नुनै नीतिगत कमजोरी भएको बताउनुभयो । पूर्व उपप्रधानमन्त्रीसमेत रहनुभएका नेता केसीले संविधान बनाउंदा नीतिगत बदमासी भएकाले ति बदमासीका कारण अहिले देशले समस्या भोग्नु परेको तर्क गर्नुभयो ।

संघीयता असफल सिद्व भैसकेको बताउंदै केसीले हिजो संघीयता ल्याउन मरीहत्ते गर्नेहरु आज लाज लागेर बर्कोले मुख ढाकेर हिड्न थालेको व्यङ्य गर्नुभयो ।

कार्यक्रममा बामपन्थी नेता सुरेश थापाले अहिलेको संविधान, व्यवस्था र सरकारले जनताको पक्षमा कामगर्न नसक्ने बताउनुभयो । जनताका माग पुरा गर्न जनवादी गणतन्त्र व्यवस्था स्थापना गर्नुपर्ने र त्यसका लागि अहिलेको प्रगतिशील संविधानलाई टेकेर जनवादी क्रान्तिको बाटोमा अगाडी बढ्नुपर्नेमा जोड दिनुभयो ।

बामपन्थी बुद्धिजिवी दुर्गानाथ खरेलले प्रधानमन्त्री ओलीको संसद विघटन अधिनायकवादी कदम भएको उल्लेख गर्र्दै ओलीको कदमले देशमा अधिनायकवादी व्यवस्था आउन सक्ने भएकाले जनतलाई सचेत गराउनुपर्ने बताउनुभयो ।

राष्ट्रिय जनमोर्चा रुपन्देही अध्यक्ष बद्रे आलमको अध्यक्षता र नेत्र आचार्यको सञ्चालनमा भएको कार्यक्रममा नेकपा मसाल रुपन्देही प्रवक्ता नारायण जीसी, राष्ट्रिय जनमोर्चा रुपन्देही सचिव टानबहादुर केसी, चेतनाथ आचार्य लगायतले बोल्नुभएको थियो । सरकारको असंवैधानिक कदम, संघीयता बिरुद्व र राष्ट्रियता, धर्मनिरपेक्षताको पक्षमा राष्ट्रिय जनमोर्चाले विशेष एक महिने अभियान सञ्चालन गरेको छ ।

You might also like