रुकुम पश्चिमको राडी बजारमा अनिश्चितकालीन निषेधाज्ञा

रुकुम पश्चिम,६ माघ ।
रुकुम पश्चिमको राडीबजारमा अनश्चितकालीन निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गरी मंगलबार बेलुका ५ बजेदेखि अर्को सूचना नभएसम्मका लागि निषेधाज्ञा जारी गरेको हो ।

पूर्वमा घारीखोला, पश्चिममा ठूलीभेरी, दक्षिणमा सिमबजार र उत्तरमा दाँजेबाट कोही पनि राडीबजार भित्रन नपाउने गरी निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेद्धारा जारी सूचनामा जनाइएको छ ।

आठबीसकोट नगरपालिकाको ९ नम्बर वडा राडीबजारमा केही समूहबाट अनावश्यक भेला हुने अवाञ्छित गतिविधिहरु गरी शान्ति भंग हुनेगरी हुलदंगा वा अशान्ति सिर्जना गर्न खोजिरहेकाले निषेधाज्ञा जारी गरिएको प्रशासन कार्यालयले जनाएको छ ।

तोकिएको क्षेत्रभित्र नगर्नु भनिएका गतिविधि गरेको पाइए कानुन अनुसार कारबाही हुने प्रजिअ गैह्रेले बताउनुभयो । यी चार किल्ला भित्र एकै ठाउँमा पाँच जनाभन्दा बढी उभिन नपाउने, भेला तथा भीडभाड गर्न नपाउने, बिरामी बोकेका गाडी, खाद्यान्न बोकेका गाडीबाहेक कुनै पनि सार्वजनिक सवारी तथा मोटरसाइकल चलाउन नपाइने जनाइएको छ ।

राडीबजारमा नेकपा र नेपाली कांग्रेसका कार्यकर्ताबीच दिनभरजसो झडप भएपछि राडीबजार तनावग्रस्त भएको थियो । स्थिति नियन्त्रणमा लिन प्रहरीले ९ राउण्ड हवाई फायर समेत गरेको थियो ।

You might also like