भारत्तोलनका अन्तराष्ट्रिय च्याम्पियन रुपन्देहीका रुप कार्कीको निधन

बुटवल,९ माघ ।
भारत्तोलनका विश्व च्याम्पियन रुपन्देहीका रुप कार्कीको ५२ बर्षको उमेरमा निधन भएको छ ।

रुपन्देहीको तिलोत्तमा नगरपालिका ६ भलवारी बस्दै आएका कार्कीको आज विहान हृदयघातबाट निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

बुटवलबाट काठमाडौं लैजादैगर्दा मुगलिन नजिकै बाटोमा अचानक उहाँको निधन भएको जनाइएको छ । सन् २०१९ मा आयरल्यान्डको लाइमेरिकमा चार दिनसम्म सञ्चालित मास्टर–२ प्रतियोगितामा कार्कीले दुई सय बढी देशका करिब ७ सय जना प्रतिस्पर्धीलाई पछाडि पारेर स्वर्ण जित्न सफल हुनुभएको थियो ।

सन् २०१९ को जुलाईमा ५०–५४ बर्ष उमेर समूह र २२० पाउण्ड वजनमा कार्कीले युएसपिएलमा स्वर्ण पदक प्राप्तसँगै आयरल्याण्डमा सम्पन्न आईपिएल प्रतियोगितामा उनी छनौट हुनुभएको थियो ।

भारत्तोलक कार्कीले ४४–४९ बर्ष उमेर र २२० पाउण्ड वजन समूहमा सन् २०१७ मा सम्पन्न एटलान्टामा भएको युएसपीएल प्रतियोगितामा स्वर्ण पदक हात पार्नुभएको थियो ।

उहाँले नयाँ पुस्तालाई पनि विश्व च्याम्पियन स्तरमा पुर्याउने उद्देश्यले नेपालमा भारत्तोलनको तालिम सचालन गर्दै आउनु भएको थियो । नेपाल र नेपालीको नाम बिश्वसामु पुर्याउन सफल भारत्तोलनका अन्तराष्ट्रिय खेलाडी एवं च्याम्पियन कार्कीको निधनले खेलजगत स्तब्ध भएको छ ।

You might also like