संसद विघटन प्रतिगामी र फासिवादी कदम ः अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ

मजदुर वर्गको आधारभूत अधिकार सुनिस्चितताका लागि सम्झौताहीन संघर्ष गर्ने संकल्प

बुटवल,११ माघ ।
अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघले दलाल पँुजिपती सामन्त वर्ग एवं कठपुतली सरकारको विरुद्ध तथा श्रमजिवी मजदुर एवं उत्पीडित जनसमुदायको आधारभूत अधिकार सुनिस्चितताका लागि सम्झौताहिन संघर्ष गर्ने जनाएको छ ।

यही माघ ९ र १० गते रुपन्देहीमा सम्पन्न महासंघको केन्द्रीय समितिको पुर्ण बैठकले दलाल पँुजिपती सामन्त वर्ग एवं कठपुतली सरकारको विरुद्ध तथा श्रमजिवी मजदुर एवं उत्पीडित जनसमुदायको आधारभूत अधिकार अर्थात गाँस–आवास–कपास,स्वास्थ्य–शिक्षा–सुरक्षा र रोजगारीको सुनिस्चितताका लागि सम्झौताहिन संघर्ष गर्ने निर्णय गरेको महासंघका अध्यक्ष इश्वर तिमिल्सिनाले जानकारी दिनुभयो ।

वैठकका निर्णय सार्वजनिक गर्न आइतवार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघका अध्यक्ष तिमिल्सिनाले दलाल पुँजिपती एवं सामन्त वर्गले नेपालका श्रमजिवि मजदुर वर्गका बिरुद्ध निरन्तर शोषण,दमन गर्दै आएको बताउदै कोभिड–१९ को विश्वव्यापी त्रासदीसम्म पुग्दा यो शिलशिला लाखौं मजदुरलाई रोजगारी बाट निस्कासित एवं लाखौं मजदुरहरुको तलव सुविधा कटौती गर्ने स्थितिमा पुगेको बताउनुभयो ।

यसले औपचारिक र अनौपचारिक श्रम बजारमा क्रियाशील करिब ६० लाख नेपाली मजदुर वर्ग प्रत्यक्ष र परोक्ष संकटको अनिस्चित भुमरीमा फस्न पुगेको निष्कर्ष निकाल्दै वैठकले वैदेशिक रोजगारीको शिलशिलामा भारत प्रवास र मध्य पुर्वका विभिन्न देशहरुमा काम गर्ने ५० लाख भन्दा धेरै मजदुरहरुको जिवन र भविस्यको विषयमा सरकार जिम्मेवारी विहीन र लाचार बनेको ठहर गरेको अध्यक्ष तिमिल्सिनाले जानकारी दिनुभयो ।

मजदुर वर्ग माथि थोपरिएको असिम संकटको घडीमा पनि यो सरकार मजदुर वर्गको हित विरुद्ध सामन्त एवं दलाल पुँजिपती वर्गको कठपुतलीको रुपमा खडा भएको भन्दै वैठकले दलाल पँुजिपती सामन्त वर्ग एवं कठपुतली सरकारको विरुद्ध तथा श्रमजिवी मजदुर एवं उत्पीडित जनसमुदायको आधारभूत अधिकार सुनिस्चितताका लागि सम्झौताहिन संघर्ष गर्ने निर्णय गरेको महासंघद्धारा जारी विज्ञप्तिमा जनाइएको छ ।

दलाल पुँजिपती एवं सामन्त पुरानो राज्यसत्ता,प्रतिक्रियावादी संसदीय व्यवस्था,संविधान र नामधारी कम्युनिष्ट सरकार राष्ट्रिय सधिनताको रक्षा एवं मजदुर,किसान र उत्पीडित समुदायको आधारभूत आवस्यकताको सम्बोधन गर्न असफल भएको ठहर गर्दै वैठकले संसद विघटन यही असफलताको परिणाम भएको निस्कर्ष निकालेको छ ।

संसद विघटन प्रतिगामी र फासिवादी कदम भएको भन्दै महासंघले उक्त कदमको विरोध र भत्सर्ना गरेको छ ।
त्यस्तै श्रजजिवी मजदुर एवं उत्पीडित नेपाली जनतालाई नयाँ जनवादी राज्यसत्ता स्थापनाको निम्ति एकजुट भएर संघर्षमा उत्रिन महासंघले आह्वान समेत गरेको छ ।

You might also like