केपी ओली पक्षको नेकपा रुपन्देहीद्धारा ४९९ सदस्यीय अधिवेशन आयोजक कमिटी गठन

बुटवल, ११ माघ ।
केपी ओली समूहको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रुपन्देहीले ४९९ सदस्यीय जिल्ला अधिवेशन आयोजक कमिटी गठन गरेको छ ।

नेकपा जिल्ला कमिटी रुपन्देहीको आइतबार बुटवलमा बसेको चौथो पूर्ण बैठकले अधिवेशन आयोजक कमिटी गठन गरेको सो पार्टीले जनाएको छ ।

बैठकले माघ महिनाभरिमा जिल्ला, क्षेत्र, पालिका र वडा तहसम्मका कमिटी गठन पुनर्गठन बिस्तार गर्ने तथा फागुनमा जिल्ला, क्षेत्र र पालिकास्तरमा सभाहरु गर्ने निर्णय गरेको छ ।

बैठकलाई संबोधन गर्दै पार्टी केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज लिला गिरीले पार्टीमा देखिएको बिग्रह र तटस्थतालाई चिर्दै सम्पूर्ण शक्तिका साथ कार्यकर्ता र जनतामा जान नेतृत्वमा रहेका कार्यकर्तालाई आग्रह गर्नुभयोे । देशलाई बिखण्डनबाट बचाउन, विकास र समृद्धिको यात्रालाई निरन्तरता दिन पार्टी अध्यक्ष तथा प्रधानमन्त्री ओलीले ताजा जनमतको लागि निर्वाचनमा जाने निर्णय गर्नु बाध्यात्मक कदम भएको उहाँले बताउनुभयो ।

अर्का केन्द्रीय सदस्य एवं सहइन्चार्ज दधिराम न्यौपानेले बैठकले गरेका निर्णयहरु दृद्धतापुर्वक कार्यान्वयनका लागि लाग्न निर्देशन दिंदै गाली गलौजमा होइन, आदरभावका साथ सैद्धान्तिक रुपमा जुध्ने कामको नेतृत्व गर्न आह्वान गर्नुभयो ।

पार्टी जिल्ला कमिटी अध्यक्ष शिवराज सुवेदीको अध्यक्षतामा बसेको बैठकमा केन्द्रीय सदस्य एकराज विश्वकर्मा, पुर्व केन्द्रीय सल्लाहकार नेत्र पन्थी, जिल्ला कमिटीका प्रेम गुरुङ्ग लगायतले बोलेका थिए ।

यसैबीच नेपाल कम्युनिष्ट पार्टी (नेकपा) तिलोत्तमा नगर कमिटी अन्तर्गत वडा नम्बर १–४ शाखा कमिटीको संयुक्त भेला आइतबार सम्पन्न भएको छ ।

नेकपा नगर कमिटीका अध्यक्ष मोहन चापागाईंको अध्यक्षतामा सम्पन्न भेलाले यही माघ १३ गते बुटवलमा आयोजना हुने युवा भेलामा सक्रिय सहभागिता जनाउने निर्णय गर्दै शाखा कमिटीहरुबाट उल्लेख्य सहभागिता गराउने निर्णय गरेको छ ।

You might also like