कोरोनाविरुद्धको खोप अभियान सुरु
काठमाडौँ,१४ माघ ।
नेपालमा पनि आजदेखि कोरोना भाइरसविरुद्धको खोप अभियानसुरु भएको छ ।
खोप अभियानको बुधबार बिहान प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारबाटै भिडियो कन्फरेन्समार्फत उद्घाटन गर्नुभएको हो ।
नेपालमा कोरोनाको पहिलो खोप काठमाडौंको टेकुस्थित सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. सागर राजभण्डारीले लगाउनुभएको छ । कोरोनाविरुद्धको सुरक्षित खोप लगाउन डराउनु पर्दैन भन्ने सन्देश दिन आफूले सुरुमै खोप लगाएको उहाँको भनाइ छ ।
उहाँसँगै डा. अनुप बाँस्तोला र डा. रुना झाले पनि कोरोना खोप लगाउनुभएको छ । यससँगै देशैभर कोरोना खोप अभियान सुरु भएको छ ।
काठमाडौं उपत्यकामा १७ वटासहित देशभर १ सय २० केन्द्रबाट कोरोना खोप दिइनेछ । भारत सरकारले अनुदानमा उपलब्ध गराएको ‘कोभिसिल्ड’ नामक खोप पहिलो चरणमा बुधबार स्वास्थ्यकर्मी, सरसफाइकर्मी, एम्बुलेन्स चालक, शव व्यवस्थापन गर्ने व्यक्ति, खोप केन्द्रमा खटिने सुरक्षाकर्मी, वृद्धाश्रममा काम गर्ने कर्मचारीलाई दिइँदै छ । शुक्रराज अस्पतालमा कोरोना संक्रमितको उपचार तथा व्यवस्थापनमा खटिएका चिकित्सक, नर्स, स्वास्थ्यकर्मी तथा सफाइकर्मी गरी २६४ जनाले बुधबार खोप लगाउँदै छन् ।
सोही अस्पतालमा रहेको खोप केन्द्रमा स्वास्थ्य सेवा विभागअन्तर्गत रहेका स्वास्थ्यकर्मी, काठमाडौं अस्पताल, ब्लुक्रस, राजधानी अस्पतालका २ हजारभन्दा बढी स्वास्थ्यकर्मीलाई पनि खोप दिइनेछ ।
काठमाडौंको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा पहिलो दिन नै ३ सय जना स्वास्थ्यकर्मीले खोप लगाउने तयारी छ ।
पहिलो चरणमा कुल ४ लाख ३० हजारलाई खोप दिने तयारी छ ।