आज शहीद दिवस ः विविध कार्यक्रम गरी मनाइदै

काठमाण्डौ,१६ माघ ।
आज माघ १६ गते, शहीद दिवस विविध कार्यक्रमको आयोजना गरी मनाइदै छ ।

प्रजातन्त्रको स्थापना र पुनःस्थापनालगायत विभिन्न कालखण्डमा स्वतन्त्रताका लागि जीवन आहुति दिने शहीदको सम्झनामा विभिन्न कार्यक्रम गरेर मनाइदै आएको छ ।

शहीद दिवसको अवसरमा हरेक वर्ष माघ १० देखि १६ गतेसम्म शहीद सप्ताह मनाइन्छ ।

एकतन्त्रीय र निरंकुश राणा शासनको विरोध र स्वतन्त्रताको माग गर्दा तत्कालीन राणा शासकले १९९७ सालको माघ १० गते काठमाण्डौ टेकुको पचलीमा शुक्रराज शास्त्रीलाई, धर्मभक्त माथेमालाई माघ १३ गते सिफलमा र गङ्गालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ गते शोभाभगवतीमा मृत्युदण्ड दिइएको थियो ।

शहीद दिवसका अवसरमा आज बिहान शान्तिबाटिकामा भेला भएर नेपाल प्रहरी र सशस्त्र प्रहरीको ब्याण्ड, मार्चपास र शहीदहरुको तस्बिर राखिएको बग्गीसहितको प्रभातफेरी शहीद उद्यान लैनचौरमा पुगेर श्रद्धाञ्जलीसभामा परिणत भएको छ ।

यसैबीच, दिवसको अवसरमा शुभकामना दिँदै राष्ट्रपति विद्यादेवी भण्डारीले उपभोग गरिरहेको स्वतन्त्रता र नागरिक अधिकार विगतमा शहीदहरूले गरेका बलिदानको प्रतिफल भएको बताउनुभएको छ ।

शहीदहरूको बलिदानद्वारा प्राप्त भएको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्नेतर्फ अग्रसर हुँदा नै शहीदप्रति सच्चा श्रद्धाञ्जलि हुने उहाँले बताउनुभयो ।

यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले शहीदको बलिदानको प्रतिफलको रुपमा प्राप्त लोकतान्त्रिक व्यवस्थालाई सुदृढ गरी नेपाललाई ‘समृद्ध र नेपालीलाई सुखी’ बनाउने अभियानमा रहेको बताउनुभएको छ ।

नागरिकलाई अधिकार सम्पन्न बनाएर शहीदको बलिदानबाट प्राप्त लोकतान्त्रिक व्यवस्थालाई संस्थागत गरेको भन्दै उहाँले शहीदको बलिदानीपूर्ण संघर्षको मार्गदर्शनबाट समृद्ध देश निर्माण गरी सबै नागरिकलाई सुखी बनाउँदै राष्ट्रिय आकांक्षा पूरा गर्ने गन्तव्य सरकारले तय गरेको बताउनुभयो ।

दिवसको अवसरमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायत विभिन्न राजनीतिक दलका नेताहरुले शुभकामना व्यक्त गरेका छन् ।

You might also like