बुद्धज्योति लघुवित्तको सीईओमा खड्का

बुटवल १७ माघ
बुद्ध जन्मस्थल लुम्बिनीमा केन्द्रीय कार्यालय रहेको पहिलो वित्तीय संस्था बुद्धज्योति लघु वित्त वित्तीय संस्था लि.को प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा भक्तबहादुर खड्कालाई नियुक्त गरेको छ । संस्था सञ्चालक समितिको यही माघ १३ गते सम्पन्न वैठकले खड्कालाई चार वर्षे कार्यकालका लागि सीईओ नियुक्त गरेको अध्यक्ष गोबिन्द पाण्डेले जानकारी दिनु भयो । खड्का यसअघि नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकको निमित्त कार्यकारी प्रमुख,नायब प्रमुख कार्यकारी अधिकृत पदसहित पछिल्लो १० वर्ष र त्यसअघि लघु वित्त वित्तीय संस्थामै ७ वर्ष गरी १७ वर्ष लामो बैंकिङ अनुभवप्राप्त सफल बैंकर हुन् । बैंकिङ क्षेत्रमा आर्थिक सुशासनका पक्षमा पहिचान बनाएका खड्कालाई स्वाभिमानी बैंकर समेत मानिन्छ । खड्काको नियुक्तिले कोरोना महामारी र मर्जर प्रकृया असफल भएका कारण अपेक्षाकृत प्रगति गर्न नसकेको संस्थाले छिट्टै गति लिने सञ्चालक समितिले विश्वास लिएको छ । पदभार सम्हाले लगत्तै खड्काले निकट भविष्यमै संस्थाको वित्तीय अवस्थामा उल्लेख्य सुधार ल्याउने,शाखा सञ्जाल विस्तार गर्ने र उपयुक्त लघु वित्त संस्थासंग मर्जरमा जाने वा प्राप्ती गर्ने ऐजेण्डालाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने बताउनु भयो । लुम्बिनी प्रदेशका १० जिल्ला कार्यक्षेत्र रहेको संस्थाको चुक्ता पुंजी १ करोड २० लाख रहेको छ ।

You might also like