एक चौथाइ काम सकिएपछि मुख्यमन्त्री पोखरेलद्धारा पुलको शिलन्यास
शिलन्यासको नाममा गुटभेला गरेको आरोप
रोल्पा,१८ माघ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले एक चौथाइ सकिएपछि पुलको शिलन्यास गर्नुभएको छ ।
एक पटक शिलन्यास भएर निर्माणाधीन अवस्थामा रहेका विकास आयोजनाको तामझम सहित पुन शिलन्यास गरी प्रचार गर्ने रणनीति अख्तियार गरेको बर्तमान सरकारको शैलीको अनुसरण गर्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले रोल्पामा एक चौथाई काम सकिएको पुलको शिलन्यास गर्नुभएको हो ।
चार महिनाअघि निर्माण सुरु भएर एक चौथाई काम सम्पन्न भइसकेको रोल्पाको धाङ्सी खोला पुलको शनिबार मुख्यमन्त्री पोखरेलले शिलन्यास गर्नुभएको थियो ।
नेकपा रोल्पा जिल्ला अध्यक्ष (प्रचण्ड–माधव समूह) सुरेन्द्र घर्तीले दुई वटा पिल्लर तयार भएको र अर्को पिल्लर बनिरहेको अवस्थामा तीन महिना पछि पुलको शिलान्याश गर्नु जनतामा भ्रम छर्ने बेमौसमको नाटकको संज्ञा दिनुभयो । ‘अहिले न शिलान्याश न उद्घाटनको समय हो,’ घर्तीले भन्नुभयो, ‘विकास देखाएर जनतामा भ्रम छर्ने ओली गुटको बेमौसमको तमासा र नाटक मात्र हो ।’
२५ प्रतिशत काम भइसकेको पुल शिलन्याशको नाममा सरकारी खर्चमा जिल्ला आएर गुटको भेला गरेको भन्दै नेकपाको प्रचण्ड–माधव समूहले कार्यक्रमको भद्र अवज्ञा र विरोध गरेको छ ।
पुल निर्माणको २५ प्रतिशत भौतिक प्रगति र कुल रकममध्ये १४ प्रतिशत बजेट भुक्तानी गरिसकिएको जिल्लास्थित सडक पूर्वाधार विकास कार्यालयका प्राविधिक धनबहादुर घलेले जानकारी दिनुभयो । करिब ६० मिटर लामो पुल ०७९ भदौ २४ सम्ममा निर्माण सम्पन्न हुनेछ ।
सदरमुकाम लिबाङसँग धाङ्सी, धबाङ, होमा, मिरुल, कुरेली गाउँलाई सडक मार्गले जोड्न प्रदेश सरकारले उक्त पुल निर्माण गर्न थालेको हो । सम्झौता अवधिदेखि दुई वर्षभित्र निर्माण गरिसक्नुपर्ने सर्तसहित उक्त पुल निर्माण जिम्मेवारी एसियाटिकरराज जेभीले लिएको हो । प्रि स्टेज प्रकारको सडक पुलको कुल लागत ५ करोड ६१ लाख ४९ हजार ५ सय ४९ छ ।
पुल शिलान्याश गरेपछि मुख्यमन्त्री पोखरेलसहित ओली समूहका नेताहरु सदरमुकाम लिवाङस्थित रोल्पा उद्योग वाणिज्य संघको सभाहलमा आयोजित ओली पक्षको कार्यकर्ता भेलामा प्रशिक्षणका लागि सहभागी हुनुभएको थियो ।