नेपालमा बिहीवारदेखि वर्षा र हिमपातको सम्भावना, देशका धेरै ठाउँमा पानी पर्ने अनुमान

काठमाण्डौ,२० माघ ।
बिहीवारदेखि नेपालमा वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
नेपालमा ढिलै भए पनि हिउँदे वर्षा र हिमपात हुन लागेको हो ।

पानी पार्ने पश्चिमी वायुको प्रणाली भित्रिन लागेकाले नेपालमा पर्सि बिहीबारदेखि तीन दिनसम्म मौसम बद्ली भएर वर्षा हुने सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले जानकारी दिनुभयो । उहाँकाअनुसार अहिलेसम्मको अवस्थाले पर्सि पश्चिमी क्षेत्रबाट यो प्रणाली नेपाल प्रवेश गर्ने छ ।

यो प्रणाली प्रवेश गरेपछि पश्चिमी क्षेत्रसँगै देशका अन्य ठाउँमा पनि पानी पर्ने मौसमविद् कँडेलले बताउनुभयो । लामो समयदेखि वर्षा र हिमपात नहुँदा वायु प्रदूषणसँगै सुक्खापन बढेको छ । बालीनालीमा नोक्सानी पुगेको छ ।

केही समयअघि पश्चिम र सुदूरपश्चिमका केही ठाउँमा पानी परे पनि देशका अन्य क्षेत्रमा झण्डै ५ महिनादेखि वर्षा भएको छैन । यसैबीच, अहिले देशका धेरै ठाउँमा हुस्सु कुहिरो लागेको छ । तराईका जिल्लामा केही दिनदेखि नै बाक्लो हुस्सु र कुहिरो लागेको छ । दिउँसो पछि भने हुस्सु र कुहिरो हट्ने भएकाले तराईका जिल्लामा शीतलहरको औपचारिक घोषणा गरिएको छैन ।

काठमाण्डौ उपत्यकासहित आसपासका क्षेत्र र पहाडी जिल्लामा लागेको कुहिरो बिस्तारै हट्न थालेको छ । आज काठमाण्डौको न्यूनतम तापक्रम २ दशमलव ७ डिग्री सेल्सियस छ भने अधिकतम तापक्रम १८ देखि २० डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको छ ।

You might also like