संवैधानिक परिषद्को बैठक पुन ः स्थगित

काठमाडौँ,२० माघ ।
बुधबारका लागि बोलाइएको संवैधानिक परिषद्को बैठक स्थगित भएको छ ।

निर्वाचन घोषणा भएको अवस्थामा सरकार कामचलाउ भइसकेको र विगतमा गरेको नियुक्तिको सिफारिसमाथि नै प्रश्न उठिरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार साँझ बैठक डाक्नुभएको थियो ।

राष्ट्रिय सभा सचिवालय स्रोतका अनुसार बुधबार साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भनिएको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको हो ।

उक्त बैठकमा पहिलो एजेन्डा संवैधानिक निकायमा नियुक्ति सिफारिस सम्बन्धमा र दोस्रो एजेन्डामा विविध उल्लेख थियो ।
यसअघि मंगलबार साँझका लागि बोलाइएको बैठक एक दिनपछि बुधबारका लागि सारिएकोमा पुनःस्थगित भएको हो ।

दुई दिनअघि मात्रै परिषद्को बैठकबाट संवैधानिक अंगहरुमा गरिएका नियुक्ति सिफारिस सभामुख अग्नि सापकोटाले फिर्ता गरिदिनुभएको थियो ।

सरकारले अध्यादेश जारी गरी परिषदका बहुमत सदस्यबाट निर्णय गर्न सक्ने व्यवस्था गरेको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र सभामुख सापकोटाले बैठक बहिस्कार गरेपछि गत मंसिर ३० गते बहुमतकै आधारमा अख्तियारसहितका बिभिन्न संवैधानिक आयोगहरुमा नियुक्तिको सिफारिस गरिएको थियो ।

संसद विघटन भइसकेको अवस्थामा सिफारिस गरिएका पदाधिकारी तथा सदस्यहरुको सुनुवाइ हुन नसक्ने भन्दै सभामुख सापकोटाले सक्कलै फाइल फिर्ता पठाइदिनुभएको थियो । संविधानमा संसदीय सुनुवाइपछि मात्र नियुक्ति हुने व्यवस्था रहेको छ ।

You might also like