ओलीको बलमिचाइँका कारण विहिवार आम हडतालको घोषणा

काठमाडौँ २१ माघ
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड माधव समूहले संवैधानिक परिषद्को नियुक्तिमा प्रधानमन्त्री केपी शर्मा ओलीले बलमिचाइँ गरेको भन्दै बिहिबार आम हडताल घोषणा गरेको छ ।
कार्यालय पेरिस डाँडामा बुधवार दिउँसो आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेकपा प्रवक्ता तथा केन्द्रीय सङ्घर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री ओलीको बलमिचाइँका कारण आम हडताल गर्न आफूहरू बाध्य भएको बताउनु भयो ।
प्रवक्ता श्रेष्ठले भने,’ केपी ओली सरकारले प्रतिनिधि सभा विघटनको असंवैधानिक अलोकतान्त्रिक निरङ्कुश र प्रतिगामी कदम चालेपछि देश आन्दोलनमय रहेकै अवस्थामा बुधवार सरकार र राष्ट्रपति मिलेर असंवैधानिक एवम् गैर कानुनी ढङ्गले नियुक्त गरिएका संवैधानिक आयोगका पदाधिकारी एवम् सदस्यहरूलाई बलमिचाइँ गरी शपथ ग्रहण गराउने कार्य भएको छ । यसको विरोधमा हामी बाध्य भएर बिहिबार आम हडताल आह्वान गरेका हौ । ’

उहाँले प्रधानमन्त्री ओली सरकारी गुटको नेता मात्रै भएको आरोप लगाउनु भयो । ओली सरकार नीतिगत निरन्तरतामा भन्दा पनि भ्रम पार्न र स्वार्थ पूरा गर्न लागिपरेको उहाँको भनाइ छ ।
प्रचण्ड माधव पक्षको विरोधपछि पनि सरकारले विभिन्न संवैधानिक निकायमा सिफारिस भएका ३८ जनामध्ये ३२ जना पदाधिकारीहरूलाई बुधवार शपथ ग्रहण गराएको छ ।

You might also like