आमहड्तालका कारण बुटवल लगायत देशभरको जनजिवन प्रभावित, देशभर ९७ जना पक्राउ

बुटवल,२२ माघ ।
नेकपा प्रचण्ड–माधव समूहले आह्वान गरेको आमहड्तालका कारण बुटवल लगायत देशभरको जनजिवन प्रभावित भएको छ ।

लामो तथा छोरो दूरीका सवारीसाधन सञ्चालनमा आएका छैनन् मुख्य राजमार्ग बजारका पसलहरु समेत बन्द रहेका छन् ।

गृह मन्त्रालयले सवारीसाधन सञ्चालन गर्न र आ आफ्नो पेशा व्यवसाय सदाझै सञ्चालन गर्न आह्वान गरे पनि व्यवसायीहरुले सवारीसाधन तथा उद्योग–कलकारखाना,पसल खोलेनन् ।

त्यसक्रममा ठाउँठाउँमा सवारीसाधनमाथि ढुंगा प्रहार भएको छ भने काठमाडौंमा ट्याक्सीसमेत आगजनी भएको छ । प्रहरीका अनुसार देशभर ९७ जना पक्राउ परेका छन् ।

यसैबीच लुम्बिनी प्रदेशको बुटवल सहित प्रदेशभर बन्दको प्रभाव परेको छ ।

प्रदेशको मुकाम बुटवलमा बिहानैदेखि सार्वजनिक यातायात र मालवाहक सवारीसाधनहरु चलेका छैनन् । यहाँका बजार, शिक्षण संस्थाहरु पनि बन्द रहेका छन् । आन्दोलनकारीले सडकमा टायर बालेर, ट्रक तेर्स्याएर सवारी साधन चल्न दिएका छैनन् ।

बन्दको अवज्ञा गरेको भन्दै बुटवल स्थित राजमार्ग चौराहमा लु ३१ प ९३५५ नम्बरको मोटरसाइकल तोडफोड गरेका छन् ।

प्रहरी गस्ती बढाइए पनि बुटवलको राजमार्ग चौराहामा नेकपा प्रचण–माधव समूहका युवा नेता राजु गुरुङको नेतृत्वमा नेता, कार्यकर्ता जम्मा भएका छन् । रुपन्देहीमा बिहान ९ बजेसम्म आम हड्तालका क्रममा कुनै अप्रिय घटना नभएको रुपन्देही प्रहरी प्रवक्ता डीएसपी सत्यनारायण थापाले बताउनुभयो ।

धरानमा प्रदर्शनकारी र मजदुरबीच घम्साघम्सी भएको छ । बिहीबार बिहान भानु चोकमा मजदुर र बन्दकर्ताबीच घम्साघम्सी भएको हो ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी कमल थापाका अनुसार हाल स्थिति नियन्त्रणमा आइसकेको छ । धरानमा सवारीसाधनमाथि ढुङ्गा प्रहार गरेको आरोपमा प्रहरीले एकजनालाई नियन्त्रणमा लिएको उहाँले बताउनुभयो ।

प्रदेश नं. २ मा पनि बन्दको प्रभाव परेको छ ।

प्रचण्ड–माधव समूहका नेता, कार्यकर्ताहरु मुख्य राजमार्गमा बसेर सवारी सञ्चालनमा अवरोध गरिरहेका छन् ।

लहानमा बिहीबार बिहानै ७३५२ नम्बरको ट्रकमा ढुंगा हानिएको प्रहरीले जनाएको छ । तोडफोडमा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

सडकमा अवरोध गरेको भन्दै वीरगञ्जमा प्रहरीले १७ जनालाई नियन्त्रणमा लिएको छ । प्रचण्ड–माधव समूहका वीरगञ्ज महानगर अध्यक्ष रहबर अन्सारी, युवा नेता अरविन्द सिंह, विद्यार्थी नेता प्रभाकर गुप्तासहितका व्यक्तिहरु पक्राउ परेका हुन् ।

काठमाडौं उपत्यकामा आमहड्ताल सफल पार्न भन्दै प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल आफैं सडकमा निस्किनुभएको छ । छोरी रणु दाहालसहित सातदोबाटो, पुल्चोक लगायतका क्षेत्रमा पुगेर उनले सम्बोधन गर्नुभयो ।

सातदोबाटोमा प्रचण्डले सरकारले बलमिच्याइँ गरेर संवैधानिक निकायहरुमा नियुक्ति गरेकाले त्यसबारे जनतालाई जानकारी दिन सडकमा आउनु परेको बताउनुभयो । सम्भवतः फागुन पहिलो सातादेखि संयुक्त आन्दोलन हुने समेत उहाँको भनाइ छ ।

रत्नपार्क क्षेत्रमा प्रवक्ता नारायणकाजी श्रेष्ठले आन्दोलनको नेतृत्व गरिरहनुभको छ । प्रचण्ड–माधव समूहको संघर्ष समिति संयोजक समेत रहेका श्रेष्ठले शान्तिपूर्ण आन्दोलनमा धरपकड गरेर सरकारले द्वन्द्व निम्त्याउन खोजेको प्रतिक्रिया दिनुभयो ।

उता कास्कीको पोखराका बिभिन्न ठाउहरुमा प्रचण्ड–माधव समूहले प्रदर्शन गरिरहेको छ । प्रदर्शनमा रामकाजी गुरुङ, दीपक कोइराला लगायतका नेताहरु देखिएका छन् ।

You might also like