८० टिमको सहभागितामा शुक्रवार देखि बुटवलमा राष्ट्रिय खुल्ला तथा भेट्रान्स पुरुष ब्याडमिन्टन हुदै
बुटवल २२ माघ,
लाफा समूह बुटवलको आयोजनामा हुने तेस्रो लाफा राष्ट्रिय खुल्ला तथा भेट्रान्स पुरुष डबल व्याडमिन्टन प्रतियोगिता २०७७ को तयारी पूरा भएको छ । खेलकुद र सामाजिक गतिविधिमा क्रियाशिल समुहले खेलाडीहरुलाई प्रोत्साहन गर्ने लक्ष्यसहित यही माघ २३ र २४ गते प्रतियोगिता गर्ने भएको हो ।
प्रतियोगितामा लुम्बिनी प्रदेश सहित काठमांडौ, चितवन, कास्की, दाङ्ग, बांकें, कैलाली, बाग्लुङ्ग, गुल्मी, पाल्पा, लगायतका जिल्लाबाट खेलाडीहरु सहभागी भएको कार्यक्रम संयोजक पुरन गाहाले जानकारी दिनु भयो । प्रतियोगितामा ८० टिमको सहभागी रहेको संयोजक गाहाले बताउनु भयो ।
खुलातर्फ ५८ तथा भेट्रान्स तर्फ २८ बढी टिमको सहभागीता रहने प्रतियोगितामा खुल्ला तर्फका विजेताले ५५ हजार ५ सय ५५ नगद पुरस्कार प्राप्त गर्ने छ । त्यस्तै, उपविजेताले ४१ हजार ५ सय ५५ तथा तेस्रो हुनेले ३१ हजार ५सय ५५ नगद पुरस्कार प्राप्त गर्ने छन् । यसैगरी अनुशासित खेलाडी तथा उदयमान खेलाडीले र्याकेट, ट्रफि र प्रमाणपत्र प्राप्त गर्ने समुहका संयोजक ज्ञानु सारुले जानकारी दिनु भयो ।
भेट्रान्सतर्फ भने प्रथम पुरस्कार २५ हजार ५ सय ५५, दोस्रो पुरस्कार १५ हजार ५ सय ५५ र तृतीय पुरस्कार १० हजार ५ सय ५५ रहेको छ । प्रतियोगितामा सहभागिताका लागि खुला तर्फ ३ हजार प्रवेश शुल्क लाग्ने र भेट्रान्सतर्फ २ हजार प्रवेश शुल्क राखिएको समुहका अध्यक्ष तारा सिंह रेस्मीले बताउनु भयो ।
बुटवल उपमहानगरपालिकाका नगर प्रमुख शिबराज सुबेदीले प्रतियोगिताको उदघाटन गर्ने समुहका संरक्षक बासुदेव लामिछानेले बताउनु भयो । दुई सम्म चल्ने प्रतियोगिता खबरकुरा डट कमको फेसबुक पेजबाट प्रत्यक्ष प्रशारण हुने समेत उहाँले जानकारी दिनु भयो । विस २०७६ सालमा स्थापना भएको लाफा समूह यस क्षेत्रको सामाजिक संस्थाहरु मध्ये एक फरक पहिचान बनाएको छ । वैदेशिक रोजगारमा रहेका लाफाका सदस्यहरुबाट सहयोग जुटाएर प्रतियोगिता गर्न लागेको हो । समूहले ब्याडमिन्टन कवर्ड हल भाडामा लिएर ट्रेनिङ्ग सेन्टर संचालन गर्ने योजना बनाएको छ ।