ओलीको निरंकुशता र अधिनायकवादविरुद्ध आम–हड्ताल ः नेपाल
कष्ट सहेर पनि जनता असंवैधानिक कदम विरुद्ध उत्रिएको दाबी
काठमाडौं,२२ माघ ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली निरंकुशता र अधिनायकवादविरुद्ध आम–हड्ताल गर्नुपरेको बताउनुभएको छ ।
विहीबार नेकपाको दाहाल–नेपाल समूहले आह्वान गरेको आमहड्ताल कार्यक्रम अनुगमन गर्न सडकमा निस्किएका नेता नेपालले ओलीकै चरित्रका कारण आम हड्ताल गर्न बाध्य भएको बताउनुभएको हो ।
ओली नेतृत्वको काम चलाउ सरकारले एकपछि अर्को गर्दै संविधान मिच्ने काम गरेकाले बाध्य भएर सडकमा आउनु परेको भन्दै नेपालले प्रधानमन्त्री ओली संविधान, गणतन्त्र र संघीयताको पक्षमा नरहेको पनि दाबी गर्नुभयो ।
सभामुखले संवैधानिक नियुक्ति फिर्ता गर्दा पनि ओलीले असंवैधानिक रूपमा नियुक्त गरेको भन्दै उहाँले प्रधानमन्त्री ओली निरंकुश शासक भएको आरोप लगाउनुभयो ।
‘काम चलाउ सरकारका प्रधानमन्त्रीले संविधान मिचे, अधिनायकवादी चरित्रमा अघि बढिरहेका छन् । ओली भनेका निरंकुश शासक हुन्, पार्टीभित्र र सरकार सञ्चालनको क्रममा पनि भागेका हौँ,’ नेपालले भन्नुभयो, ‘ओली संविधान, गणतन्त्र र संघीयताको पक्षमा पनि छैनन्, संवैधानिक परिषद्मा नियुक्ति प्रकृया नै गलत छ ।’
काम चलाउ सरकारको असंवैधानिक अधिनायकवाद विरुद्ध जनतालाई पनि विरोध जनाउन आम हड्ताल आह्वान गरेको उहाँको भनाई थियो ।
जनतालाई कष्ट भएपनि ओलीको असंवैधानिक कदमलाई परास्त गर्न आफूहरूलाई जनताको साथ मिलेको नेपालको दावी छ ।