विकसित राजनीतिबारे देउवा–पौडेल टेलिफोन संवाद ः तत्काल केन्द्रीय समितिको बैठक मार्फत पार्टीको आधिकारिक धारणा तय गर्ने

काठमाडौं,२२ माघ ।
मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमबारे प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच टेलिफोन संवाद भएको छ ।

विकसित घटनाक्रमबारे तत्काल केन्द्रीय कार्यसमितिको बैठकमार्फत पार्टीको आधिकारिक धारणा तय गर्नेबारे देउवा र पौडेलबीच टेलिफोन वार्ता भएको हो ।

गृहजिल्ला तनहुँमा रहेका नेता पौडेलले विहिबार बिहान सभापति देउवालाई टेलिफोनमार्फत पछिल्लो विकसित राजनीतिक घटनाबारे छलफलका लागि तत्काल केन्द्रीय कार्यसमिति बैठक बोलाउन आग्रह गरेको जानकारी दिनुभएको छ ।

देउवासँगको कुराकानीपछि नेता पौडेलले आफ्नो ट्वीटर ह्यान्डलमा लेख्नुभएको छ, ‘देशमा एकपछि अर्को राजनीतिक घटनाक्रम विकसित भइरहेका छन् । संसद छलेर ल्याइएको अध्यादेशको आवरणमा संवैधानिक निकायमा भएका असंवैधानिक नियुक्ती त्यसको पछिल्लो कडि हो ।’ यस्तो अवस्थामा नेपाली काँग्रेस जस्तो जिम्मेवार लोकतान्त्रिक पार्टीले एउटा स्पष्ट धारणा तय गर्न तत्काल पार्टीको केन्द्रीय समितिको बैठक बोलाउन आवश्यक रहेको पौडेलको भनाइ छ ।

‘मैले सभापति शेरबहादुर देउवालाई तत्काल केन्द्रीय समिति बैठक बोलाएर आवश्यक छलफल गर्न भनेको छु’ पौडेलले लेख्नुभएको छ ।

संवादका क्रममा सभापति देउवाले नेता पौडेललाई तत्काल राजधानी आउन आग्रह गर्दै बसेर बैठकको तिथि, मिति र एजेन्डा तय गरिने बताएको जनाइएको छ । प्रधानमन्त्री ओलीले एकपछि अर्को असंवैधानिक कदम चाल्दै गएपछि नेकपा प्रचण्ड–नेपाल समूह आम हडतालसम्म उत्रिएको छ ।

You might also like