जनताले फैसला गरिसके सक्कली नेकपा हामी हौँ ः केपी ओली

काठमाण्डौ,२३ माघ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले नेतृत्व गरेको नेकपानै आधिकारिक भएको दाबी गर्नुभएको छ ।

शुक्रबार काठमाण्डौको दरबारमार्गमा भएको सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सभामा उपस्थित जनताले आफुले नेतृत्व गरेको नेकपानै आधिकारिक भएको फैसला गरेको दाबी गर्नुभएको हो ।
काठमाण्डौको सबैभन्दा ठूलो ठाउँ छान्दा पनि मानिसहरू नअटेको भन्दै ओलीले यसबाट पार्टीको आधिकारिकताको फैसला भएको दाबी गर्नुभयो ।

अझै पनि कतिपयमा मानिसमा कुन समूह सक्कली हो भन्ने अलमल रहेको भन्दै ओलीले भन्नुभयो, ‘जहाँ तपाईँ हामी छौँ, कम्युनिस्ट पार्टी मात्रै नभएर देशकै मूल पार्टी त्यही हो ।’
‘आजबाट कुन चाहिँ पार्टी खास, कुन चाहिँ नक्कली र कुनचाहिँ सक्कली भन्ने कुरा फैसला भयो,’ भीड देखाउँदै ओलीले भन्नुभयो ।
ओलीले शुक्रवार (आज) काठमाण्डौमा भएको सभा इतिहासकै ठूलो सभा भएको दाबी गर्नुभयो ।

सभामा आउन नदिन अनेक प्रयास गर्दा पनि मानिसहरू आएको ओलीको भनाइ थियो ।

सभालाई सम्बोधन गर्दै गृहमन्त्री रामबहादुर थापाले तेस्रो जनआन्दोलन सुरु भएको बताउनुभयो ।

सरकारको नेतृत्व र राष्ट्रपतिको मानमर्दन गर्ने र विस्थापित गर्ने षड्यन्त्रले अस्थिरता ल्याएको बताउदै उहाँले अहिलेको परिस्थितिको सामनाका लागि जनतालाई आन्दोलित बनाएको उल्लेख गर्नुभयो ।

त्यस्तै केही दिनअघि नेकपाका अध्यक्ष पुष्पकमल दाहालले अबको आन्दोलन मांसाहारी हुन्छ भनेको भनाइप्रति लक्षित गर्दै गृहमन्त्री थापाले मांसहारी आन्दोलन गर्नेलाई जाउलाखलेका चिडियाखानामा लगेर बन्द गरिने चेतावनी दिनुभयो ।

थापाले भन्नुभयो, ‘मांसाहारी आन्दोलन गर्ने फुटवादी गुटवादी तत्वलाई चेतावनी दिन चाहन्छु । तपाईंहरु दुस्साहस र अपराध गर्दे हुनुहुन्छ । त्यसमा सचेत हुन आग्रह गर्दछु ।’

प्रचण्ड–नेपाल समूहले विभिन्न विरोधका कार्यक्रम गर्दै आएको छ भने ओली समूहले सरकारको बचाउमा कार्यक्रमहरु गरिरहेको छ । बिहीवार (हिजो) प्रचण्ड–नेपाल समूहले आम हड्ताल गरेको थियो ।
त्यस्तै सभालाई सम्बोधन गर्दै उपप्रधानमन्त्री एवं नेकपा ओली समूहका नेता ईश्वर पोखरलेले जनताभन्दा ठूला न्यायाधीश अरु कोही नभएको बताउनुभयो ।

देशमा राजनीतिक स्थायित्व चाहेकाले प्रधानमन्त्री केपी शर्मा ओलीले ताजा जनादेशमा जाने निर्णय गरेको पोखरेलको भनाई थियो ।

सभा सुरु हुनुअघि काठमाण्डौका विभिन्न ठाउँबाट ¥याली निकालिएको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गएको पुस ५ गते प्रतिनिधि सभा विघटनको घोषणा गरेपछि सत्तारुढ नेकपा औपचारिक रुपमा दुई समूहमा विभाजित भएको छ ।

You might also like