ओलीले असंवैधानिक कदम सच्याएपछि मात्र कांग्रेस चुनावमा ः नेता पौडेल

पाल्पा,२३ माघ ।
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडैलले प्रधानमन्त्री केपी शर्मा ओलीले चालेको असंवैधानिक कदम सच्याएपछि मात्र चुनावमा जान सकिने बताउनुभएको छ ।

शुक्रबार पुर्वि पाल्पाको रामपूरमा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पौडेलले पहिले संविधान बचाउनुपर्ने र त्यसपछि मात्र चुनावमा जान सकिने बताउनुभएको हो ।

अहिले संविधानको रक्षा गर्नुपर्ने बेला आएको बताउँदै उहाँले संविधानै नरहे चुनाव नहुने भएकाले पहिले संविधान बचाएर मात्रै चुनावमा जाने बताउनुभयो ।

‘संविधानलाई पहिला बचाउने र असंवैधानिक कदमलाई सच्याएपछि मात्र चुनावमा जान सकिन्छ,’ उहाँले भन्नुभयो, ‘संविधान नबच्ने हो भने चुनाव लड्नुको औचित्य छैन । त्यसैले असंवैधानिक कदम सच्याएपछि मात्र चुनावमा जाने सन्देश बोकेर हिँडेको छु ।’

यतिबेला चुनाव लड्ने हो भने कांग्रेसलाई फाइदा होला तर विधि र प्रक्रियाअनुसार चुनाव हुनुपर्छ भन्ने कांग्रेसको माग रहेको उहाँको भनाइ थियो । ‘कांग्रेस चुनावबाट कहिल्यै भागेको छैन र भाग्दैन,’ पौडेलले भन्ुभयो । यसअघि वरिष्ठ नेता पौडेलले नेपाल प्रेस युनियन पाल्पाले राखेको पत्रकार भेटघाटमा बोल्दै प्रतिनिधिसभा विघटनले देशको नोक्सान, लोकतन्त्रको क्षति र विघटन गर्ने पार्टीलाई धरासायी पार्ने बाहेक केही नगरेको बताउनुभएको थियो ।

पौडेलले बहुमतको नेपाल कम्युनिष्ट पार्टी(नेकपा) नेतृत्वको सरकारले जनताले दिएको मतको सम्मान गर्न नसकेको टिप्पणी गर्नुभयो ।

नेपाली जनताले नेकपालाई बहुमतले जनमत दिएर पठाए पनि जनमतको रक्षा गर्न नसकेको आरोप लगाउँदै पौडेलले प्रतिनिधिसभा विघटनले देशमा अन्यन्तै विषम परिस्थिति सिर्जना भएको र जनतामा निराशा छाएको बताउनुभयोे ।

You might also like