मुख्यमन्त्री पोखरेलको गृह जिल्ला दाङमा ओली समूह र कांग्रेस मिल्दा पनि प्रचण्ड–माधव समूह विजयी

दाङ,२६ माघ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा नेकपा केपी ओली समूहका नेता शंकर पोखरेलको गृह जिल्ला दाङमा प्रचण्ड–माधव समूहको पकड बलियो देखिएको छ ।

प्रधानमन्त्री तथा नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीका विश्वास पात्रको रुपमा चिनिएका मुख्यमन्त्री पोखरेलको गृह जिल्ला दाङमा नेकपा प्रचण्ड–नेपाल समूहको पकड देखिएको हो ।

दाङको राजपुर गाउँपालिकास्थित एक विद्यालयको व्यवस्थापन समितिको चुनावमा नेकपा केपी समूह र नेपाली कांग्रेसको संयुक्त प्यानललाई हराएर नेकपाको प्रचण्ड–नेपाल समूहले विजयी हुनुले दाङमा नेकपाको प्रचण्ड–नेपाल समूहको पकड कायमै रहेको पुष्टि गरेको हो ।

आइतबार भएको राजपुरको वडा नंं २ स्थित जनज्योति माध्यमिक विद्यालय मटेरियाको व्यवस्थापन समिति अध्यक्षको निर्वाचनमा प्रचण्ड–माधव समूहका अमरराज गिरीको प्यानल विजयी भएको हो ।

निर्वाचन समितिका संयोजक दुर्गाप्रसाद शर्माका अनुसार ७ सय २५ अभिभावकमध्ये ६ सय ५८ जनाले मतदान गरेकामा प्रचण्ड माधव समूहका उम्मेदवार गिरीले ३ सय ३६ मत प्राप्त गरेका थिए भने र ओली समूह र कांग्रेसको गठबन्धनका उम्मेदवार ओमप्रकाश यादवले २ सय ९७ मत पाएका थिए ।

यस्तै व्यवस्थापन समिति सदस्यहरुमा पनि प्रचण्ड–माधव पक्षका रामप्रसाद यादवले ३ सय २३ मत, सीमा विकले ३ सय २१ मत र सीमा चौधरीले ३ सय २७ मत प्राप्त गरी विजयी भएका छन् ।

ओली समूह र कांग्रेसको संयुक्त प्यानलका उमेदवारहरु मनोज चौधरीले २ सय ८९ मत, भेगी डाँगीले २ सय ९९ मत र दिलमाया पुनले २ सय ९३ मत प्राप्त गरे ।

You might also like