माघ ३० गते सार्वजनिक बिदा

चौतर्फी आलोचना खेपेको सरकारले जनजातीको सहानुभूती लिन खोजेको टिप्पणी

काठमाडौं,२७ माघ ।
यस वर्षको सोनाम ल्होछार पर्वको दिन माघ ३० गते सार्वजनिक बिदा हुने भएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले सोनाम ल्होछार पर्वको दिन माघ ३० गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो । तामाङ, ह्योल्मोलगायतका हिमाली समुदायले सोनाम ल्होछारलाई नयाँ वर्षको रुपमा मनाउने गर्दछन् ।

कार्यदिन बढाउन भन्दै यसअघि सरकारले ल्होछार, माघे संक्रान्ति लगायतका चाड पर्वको बिदा कटौती गरेको थियो ।

तर संसद विघटनपछि विकसित राजनीतिक घटनाक्रमसँगै सरकारले यी चाड पर्वहरुमा फेरि सार्वजनिक बिदा दिन लागेको हो ।
यसअघि माघे संक्रान्तिको दिन पनि सार्वजनिक बिदा दिइएको थियो । तर पुस १५ मा मनाइएको तमु ल्होसारको दिन भने सरकारले सम्बन्धित जाती समुदायलाई मात्रै विदा दिएको थियो ।

सरकारले २०५१ सालदेखि सोनाम ल्होछारको दिन बिदा दिँदै आएको थियो । तर ओली नेतृत्वको सरकारले २०७४ सालदेखि सो दिनको बिदा कटौती गरेको थियो । केपी ओली नेतृत्वको वर्तमान सरकारले पुरै बिदा दिने गरिएका १० वटा विदालाई २०७४ सालदेखि आंशिक बनाएको थियो भने १२ वटा बिदा पूर्णरुपमा कटौती गरेको थियो ।

संसद विघटन र संवैधानिक निकायमा नियुक्तिको विषयलाई लिएर चौतर्फी आलोजना खेपेको सरकारले यसअघि आफैले कटौती गरेको विदालाई पुनस्र्थार्पीत गरेर आदीवासी जनजातीको सहानुभूती लिन खोजेको जनजाती अगुवाहरुको टिप्पणी छ ।
आदीवासी जनजातीले मनाउने अधिकांस पर्वको विदा कटौती गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीलाई जनजाती बिरोधीको आरोप लाग्दै आएको थियो ।

You might also like