प्रधानमन्त्री बनेदेखि नै प्रधानमन्त्री ओलीे संविधान प्रतिकुल काममा ः खांण

भैरहवा, २७ माघ ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पुर्व मन्त्री बालकृष्ण खांणले केपी शर्मा ओली प्रधानमन्त्री बनेदेखि नै संविधान विपरीतका काम गर्न सुरु गरेको आरोप लगाउनुभएको छ ।

प्रधानमन्त्री बनेलगत्तै ओलीले प्रेस र अभिव्यक्ति स्वतन्त्रतामाथि बन्देज लगाउने कानून बनाउने कार्यमा लागेको उहाँले बताउनुभयो ।

लुम्बिनी प्रेस क्लबद्धारा मंगलबार भैरहवामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै खांणले प्रधानमन्त्री ओलीले राष्ट्रिय मानवअधिकार आयोग र राष्ट्रिय सुरक्षा परिषदलाई कमजोर बनाउने विधेयक ल्याएको आरोप समेत लगाउनुभयो ।

संविधानको प्रतिकुल हुनेगरी प्रधानमन्त्री ओलीले थुप्रै विधेयक ल्याएको बताउदै खाँणले भन्नुभयो–‘सेनालाई एक्लै चलाउने खालको विधेयक ल्याउनुभयो, पछिल्लोपटक त झनै राष्ट्रिय सुरक्षा परिषदको अध्यादेश संविधानविपरीत ल्याउनुभयो ।’ धेरै ठूलो दबाब आएपछि ओलीले विधेयक फिर्ता लिन बाध्य भएको उहाँको भनाई थियो ।

प्रतिनिधिसभा बिघटन बिरुद्ध नेपाली कांग्रेसले गाउँ, नगर, पालिका र वडा स्तरमा समेत विरोधका कार्यक्रमहरु गर्दै आएको भन्दै नेता खाँणले आगामी फागुन ३ गते ७७ वटै जिल्लामा विरोध प्रदर्शन गरिने बताउनुभयो ।
पुस ५ गते प्रधानमन्त्रीले संसद विघटनको प्रस्ताव राष्ट्रपति समक्ष लगेपछि कांग्रेस सभापति शेरबहादुर देउवाले ट्वीटमार्फत यो प्रस्ताव अलोकतान्त्रिक, असंवैधानिक कदम हो भनेर धारणा सार्वजनिक गरेको स्मरण गराउदै खाँणले सोही धारणानै कांग्रेसको साझा धारणा भएको दाबी गर्नुभयो ।

संसद विघटनको मुद्दामा न्यायपालिकाले संविधानसम्मत र संविधानको प्रावधान अनुसार नै उचित निर्णय गर्ने कांग्रेसको आशा र विश्वास रहेको भन्दै खाँणले संविधानमा प्रष्ट व्याख्या नभएको अवस्थामा भने न्यायपालिकाले संविधानको व्याख्या गर्ने बताउनुभयो ।

उहाँले कांग्रेसले निर्वाचनलाई अवसर भन्दा पनि संविधानको रक्षा कसरी हुन्छ भन्ने विषयमा चिन्तित रहेको उल्लेख गर्नुभयो ।

संविधानको रक्षा गर्ने जिम्मेवारी र दायित्व कांग्रेसको कांधमा आएको भन्दै खाँणले नेपाली जनताले कुनै किसिमको तानाशाह र सर्वसत्तावाद नस्वीकार्ने विचार व्यक्त गर्नुभयो ।

मुलुक सही दिशामा फर्किन्छ भन्नेमा कांग्रेस विश्वस्त रहेको भन्दै उहाँले संवैधानिक परिषद्को नियुक्तिमा कांग्रेसको उपस्थिति नभएकोले सोे निर्णयमा पार्टीको सैद्धान्तिक असहमति रहेको बताउनुभयो ।
संवैधानिक परिषदको नियुक्तिमा पनि न्यायालयले उचित निर्णय गर्नेमा आफु विश्वस्त रहेको खाँणको भनाई थियो ।

लुम्बिनी प्रेस क्लबका अध्यक्ष नरेश के.सी.को अध्यक्षता, उपाध्यक्ष सम्झना शर्माको स्वागत तथा महासचिव कमल रायमाझीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

You might also like