प्रधानमन्त्री ओलीको गृहजिल्ला झापा, अर्थमन्त्री पौडेलको रुपन्देही र वनमन्त्री आलेको डोटीमा गरि सात हजारभन्दा बढी रुख काट्ने निर्णयसरकारी निर्णय

काठमाडौं २७ माघ
सरकारले प्रधानमन्त्री, अर्थमन्त्री र वनमन्त्रीको गृहजिल्लामा विभिन्न प्रयोजनका लागि रुख काट्ने निर्णय गरेको छ ।
माघ १९ र २६ गते बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री केपी शर्मा ओली, अर्थमन्त्री विष्णु पौडेल र वनमन्त्री प्रेम आलेको गृहजिल्लाहरुमा विभिन्न प्रयोजनका लागि रुख काट्ने निर्णय गरेको हो ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले मंगलबार सार्वजनिक गरेको दुबै मन्त्रिपरिषद् बैठकका निर्णयहरुमा प्रधानमन्त्री ओलीको गृहजिल्ला झापा, अर्थमन्त्री पौडेलको गृहजिल्ला रुपन्देही र वनमन्त्री आलेको गृहजिल्ला डोटीमा गरि सात हजारभन्दा बढी रुख काटिने उल्लेख छ ।
मन्त्रालयले उपलब्ध गराएको मन्त्रिपरिषद् बैठकका निर्णयअनुसार झापामा मदन भण्डारी रंगशाला निर्माणका एक हजार नौ सय २४ रुख काटिने भएका छन् ।

“मदन भण्डारी रंगशाला आयोजनाको विकास तथा सञ्चालन गर्नका लागि झापा जिल्लाको दमक न.पा.–३ मा रहेको कूल जम्मा २७.०० हेक्टर (सत्ताइस हेक्टर) राष्ट्रिय वन क्षेत्र (हंसे दुम्से सामुदायिक वनमा रहेको) प्रयोग गर्न र तहाँ रहेका जम्मा १९२४ वटा रुखविरुवा हटाउन स्वीकृति दिने,” माघ २६ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णयमा भनिएको छ ।

सोही बैठकले लुम्बिनी केवलकार प्रालिलाई वन क्षेत्र प्रयोग गर्न दिने उद्देश्यले रुपन्देहीमा एक हजार तीन सय ३८ रुखहरु काट्न दिने निर्णय गरेको छ । जसमा पाल्पाको वन क्षेत्र पनि समेटिएको छ ।

“लुम्बिनी केवलकार प्रा.लि. लाई रुपन्देही र पाल्पा जिल्ला अन्तर्गतको कूल जम्मा ६.२७ हेक्टर राष्ट्रिय वन क्षेत्र (रुपन्देहीतर्फ बुटवल उमनपा–३ को चुरे सामुदायिक वन समेतको ३.१६ हेक्टर र पाल्पातर्फ तिनाउ गा.पा.–३ को चिउरीडाँडा÷न्याउली सामुदायिक वन समेतको ३.११ हेक्टर वन क्षेत्र) २५ वर्षका लागि प्रयोग गर्न दिने र तहाँ रहेका कूल जम्मा १३३८ वटा पोल एवं रुखहरु हटाउन समेत स्वीकृति दिने,” मन्त्रीपरिषद्को निर्णयमा भनिएको छ ।

यस्तै कैलालीलाई वनमन्त्री आलेको गृहजिल्ला डोटीको सदरमुकाम दिपायसँग जोड्ने सहजपुर–बोकटान–दिपायल सडक आयोजनाका लागि तीन हजार सात सय ९५ रुख काट्न सरकारले अनुमति प्रदान गरेको छ ।

“सहजपुर–वोक्तान (बोगटान)–दिपायल सडक आयोजना (५८ कि.मी. पहिलोखण्ड) को ‘राइट अफ वे’ को निर्माण गर्न तथा उक्त सडकका आवश्यक संरचनाहरु तयार समेत गर्नका लागि कैलाली र डोटी जिल्ला अन्तर्गत रहेको कूल जम्मा १२६.५० हेक्टर (एकसय छब्बीस दशमलव पाँच शून्य हेक्टर) राष्ट्रिय वन क्षेत्र (विभिन्न सामुदायिक वनहरु लगायतको राष्ट्रिय वन क्षेत्र) प्रयोग गर्न दिने र तहाँ रहेका कूल जम्मा ३७९५ वटा रुखहरु हटाउन समेत स्वीकृति दिने,” माघ १९ गते बसेको मन्त्रिपरिषद् बैठकले गरेको निर्णयमा उल्लेख छ ।

You might also like