काठमाण्डौमा प्रचण्ड–माधव समूहको विरोध प्रदर्शन सुरु

काठमाण्डौ,२८ माघ ।
प्रतिनिधि सभा विघटनको बिरोधमा आन्दोलनमा उत्रेको नेपाल कम्युनिस्ट पार्टी, नेकपा (प्रचण्ड–माधव समूह) को जुलुस काठमाण्डौका विभिन्न स्थानबाट सुरु भएको छ ।

उपत्यकाको माइतीघर, पुल्चोक, त्रिपुरेश्वर, केशर महल र जमलबाट जुलुस निस्किएका जुलुसहरु सुन्धारामा पुगेर मूल जुलुसमा मिसिने जनाइएको छ ।

अध्यक्ष प्रचण्ड, माधव नेपाल लगायतले नेतृत्व गरेको मूल जुलुस विभिन्न स्थान परिक्रमा गर्दै भृकुटीमण्डपमा पुगेर विरोधसभामा परिणत हुने छ । विरोधसभालाई अध्यक्षद्धय पुष्पकमल दाहाल प्रचण्ड,माधव कुमार नेपाल,पुर्व प्रधानमन्त्री झलनाथ खनाल लगायतका शीर्ष नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

विरोधसभामा सहभागी गराउन प्रचण्ड–माधव समूहले काठमाण्डौ उपत्यका सहित छिमेकी जिल्लाबाटसमेत कार्यकर्ता तथा समर्थकहरुलाई काठमाडौंमा उतारेको छ । सो समूहको जुलुस तथा विरोधसभाका कारण काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको छ ।

संसद विघटन विरुद्ध आन्दोलनरत प्रचण्ड–माधव समूहले यो विरोधसभालाई निर्णायक भनेको छ । यसअघि प्रचण्ड–माधव समूहले पुस १४ र माघ ९ मा पनि काठमाडौंमा जनप्रदर्शनसहित विरोधसभा गरेको थियो ।

You might also like