काठमाण्डौमा नेकपा दाहाल–नेपाल समूहको शक्ति प्रदर्शन

जनताको आक्रोश र पीडालाई नबुझे जनता सिंहदरबार र बालुवाटार घेर्न आउछन्– प्रचण्ड


ओलीको पाप पशुपतिनाथले पनि माफ गर्दैनन्–माधव नेपाल

काठमाडौँ,२८ माघ ।
प्रतिनिधिसभा विघटनको विरोधमा आन्दोलनरत नेकपा प्रचण्ड–नेपाल समूहले बुधबार राजधानी काठमाण्डौमा शक्ति प्रदर्शन सहित सभा गरेको छ ।

सभालाई सम्बोधन गर्दै नेकपा अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीले अटेर गरिरहे अझै सिंहदरबार र बालुवाटार घेर्ने ठूला आन्दोलन हुने चेतावनी दिनुभयो ।

प्रतिगमन, निरंकुशता र लोकतन्त्रको हत्या गर्ने केपी ओली चरित्र जनताले बुझिसकेको भन्दै पूर्वप्रधानमन्त्री समेत रहेका दाहालले जरुरी प¥यो भने बालुवाटार र सिंहदरबार घेर्ने ठूलो आमसभा हुने चेतावनी दिनुभएको हो ।

’अझै पनि लाखौं जनताको उपस्थिति र यो विरोध, आक्रोश, आवेक, पीडालाई बुझ्नुभएन भने म तपाईंलाई चुनौती दिन्छु सिंहदरबार घेर्न र बालुवाटार घेर्न आउनेछ,’ ओलीलाई दाहालले भन्नुभयोे, ’प्रतिगमन, निरंकुशता लोकतन्त्रको हत्या गर्ने तपाईंको चरित्र जनताले बुझिसकेका छन् । त्यसकारण जरुरी प¥यो भने बालुवाटार र सिंहदरबार घेर्ने ठूलो आमसभा हुनेछ ।’

केपी ओलीजीले जुलुस, आमसभा कस्तो हुन्छ देखाउँछौं भन्दै दिएको चुनौती स्मरण गराउँदै दाहालले भन्नुभयो– ’केपीजी देख्नु भयो सभा कस्तो हुन्छ ? देख्नु भयो विरोध, प्रदर्शन कस्तो हुन्छ ?’ दाहालले आफू स्टेजमा रहँदा आजको सभामा ५ लाख सहभागी भएको एसएमएस आएको उल्लेख गर्दै त्यो आफ्नो अनुमान नभएको प्रस्ट्याउनुभयो ।

नारायणहिटी दरबार संग्राहलयअगाडि २३ गते केपी ओली समूहले गरेको सभा सारा राज्यकोषको दुरुपयोग गरे पनि उत्साहजनक नभएको उहाँको भनाइ थियो ।

अर्का अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओली मदन भण्डारीको नाम छाडेर पशुपतिनाथको नाम जप्न थालेको बताउनुभयो । नेता नेपालले ओलीले मदन भण्डारीको नाम जप्न छाडेर पशुपतिनाथकोे नाम जपेपनि पशुपतिले पनि माफी नदिने दाबी गर्नुभयो ।

’केपी ओलीजी तपाईंले मदन भण्डारीको नाम जप्ने गर्नुहुन्छ । अब त्यो नाम पनि बिर्सिसक्नु भएको छ । अहिले पशुपतिनाथको मन्त्र जप्न सुरु गर्नुभएकोछ,’ नेता नेपालले भन्नुभयोे, ’तर पशुपतिनाथले कसलाई माया गर्छन् थाहा छ ? जो मानिस असल छ, राम्रो प्रवृत्तिको छ, जसले धर्म गर्दछ । पाप गर्नेलाई पशुपतिले पनि माफी गर्दैनन् । अधर्मीलाई पशुपति नाथले माया गर्नुहुन्न । केपी ओलीलाई चेतना भया ।’ देशमा बलात्कारका घटना बढेको भन्दै नेपालले ओलीको कार्यकालमा ७ हजार ७ सय ७० महिला बलात्कृत भएको दाबी गर्नुभयोे ।

कार्यक्रममा वरिष्ठ नेता झलनाथ खनालले केपी ओली राजनीतिक र सैद्धान्तिक रुपले पराजित भइसकेको बताउदै आगामि निर्वाचनमा ओलीले दुई तिहाई मत ल्याउने नभएर जमानत जफत हुने दाबी गर्नुभयोे ।

आजको विरोधसभाको उपस्थितिले कुन पार्टी आधिकारिक हो भनि पुष्टि भएको बताउदै उहाँले निर्वाचन आयोगका आयुक्तहरुलाई यहाँ आएर हेर्न आग्रह गरे ।
‘हामीले प्रचण्ड र माधव नेपालाई प्रधानमन्त्री बनाउन वा एउटा कुर्सीका लागि लडिरहेका छैनौं, संविधानको रक्षा, लोकतन्त्र र गणतन्त्रको रक्षाका लागि लडिरहेका छौं ।’ खनालले भन्नुभयो ।

नेकपा प्रचण्ड–माधव पक्षका नेता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री ओलीलाई एक मिनेट पनि प्रधानमनत्रीको कुर्सीमा बस्ने अधिकार नभएको बताउनुभयो ।
विरोधसभालाई सम्बोधन गर्दै श्रेष्ठले तीन वटा लक्ष्य र एउटा मुख्य उदेश्यका साथ प्रधानमन्त्री ओलीले चुनाव घोषणा गरिएको भन्दै प्रतिनिधि सभा विघटन, संवैधानिक निकायमा जर्वजस्ती नियुक्ति प्रमुख लक्ष्य रहेको बताए ।

‘पुस ५ गते गरेको प्रतिनिधि सभा विघटन गरेकाले त्यसलाई सुचारु गर्नु र प्रतिगामी कदमलाई असफल पार्न, दोस्रो संवैधानिक परिषदको अवैधानिक बैठबाट नियुक्तिलाई असफल पार्न हामीले संघर्ष गरेका हौ’ श्रेष्ठको भनाई छ ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता देवप्रसाद गुरुङले प्रधानमन्त्री ओलीले संविधान मिचेर निर्वाचन गराउन लागेको दावी गर्दै राष्ट्रिय पञ्चयत जतिको पनि अधिकार नरहेका प्रधानमन्त्रीले प्रतिगमनका लागि विभिन्न क्रियाकलाप गरिरहेको आरोप लगाउनुभयो । जबसम्म ओलीको तानाशाही समाप्त हुँदैन तबसम्म यो आन्दोलन जारी रहने उहाँले बताउनुभयो ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव नेपाल पक्षकी केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले संविधानको चीरहरण गर्नेहरुका विरुद्ध बोल्न कसैले रोक्न नसक्ने बताउनुभयो ।

नेतृ झाँक्रीले संविधानको चीरहण गर्नेहरूका विरुद्ध र सर्वसत्तावादको विरुद्ध बोल्न पाइने बताउनुभयो । । अहिलेको व्यवस्थामा संविधान र कानुनी राज्यको खिलापमा, सेटिङ र बन्द कोठाभित्र भएका अँध्यारा षड्यन्त्रका विरुद्ध बोल्न पाइने उहाँको भनाइ छ ।

नागरिकको बोल्न पाउने अधिकारलाई कसैले पनि कुण्ठित गर्न नसक्ने नेतृ झाँक्रीले बताउनुभयो ।

आफूले राष्ट्रपति संस्था शिरमाथिको संस्था भएकाले राष्ट्रपति संस्थाविरुद्ध बोल्ने दुस्साहस नगरेको स्पष्ट पार्दै एउटा कोठाको एसिस्टेन्टजस्तै प्रधानमन्त्री अथवा मन्त्रिपरिषद्का निर्णयलाई खुसुक्क सही छाप गरी निरंकुशताको साक्षी बस्छ भने त्यस्तो पात्रको विरुद्ध बोल्न पाइने उहाँको भनाइ थियो ।

एउटा खलपात्रको विरुद्ध बोल्दै गर्दा महिला अस्मिताको प्रश्न नआउने बताउदै नेतृ झाँक्रीले अहंकारी र सन्की प्रधानमन्त्रीको प्यादा बन्ने व्यक्तिका विरुद्ध बोल्दा महिला अस्मिताको प्रश्न नआउने विचार व्यक्त गर्नुभयो ।

अदालतप्रतिको विश्वास डगमगायो भने राज्यको शक्ति पृथकीकरणको सिद्धान्तको आधारमा बनेको संस्थाको औचित्य समाप्त हुने उहाँको भनाइ छ ।

You might also like