लुम्बिनी प्रदेश सरकारको स्थापना दिवसको मुल कार्यक्रम दाङमा

बुटवल,३० माघ ।
लुम्बिनी प्रदेश सरकारले प्रदेश स्थापना दिवस राजधानी तोकिएको स्थान दाङको राप्ती उपत्यका देउखुरीमा मनाउने भएको छ । प्रदेश स्थापना दिवस बिबिध कार्यक्रम सहित तीन दिनसम्म मनाउने तयारी गरेको प्रदेश सरकारले मुल कार्यक्रम दाङको देउखुरीमा गर्ने तयारी गरेको हो ।

प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले शुक्रबार बुटवलमा पत्रकार सम्मेलन गरि स्थापना दिवसको तयारी बारे जानकारी गराएको हो ।

प्रदेश सरकारले स्थापना दिवस फागुनको २, ३ र ४ गते बिबिध कार्यक्रमको आयोजना गरि मनाउने निर्णय गरेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव रबीलाल पन्थले जानकारी दिनुभयो ।

पहिलो दिन फागनु २ गते समृद्ध प्रदेश खुसी जनता शिर्षकमा कबिता प्रतियोगिता, प्रदेशको स्थायी राजधानी दाङको देउखुरी सहित १२ वटै जिल्ला सदरमुकामहरुमा रक्तदान, तथा सरसफाईका कार्यक्रम गरिने सचिव पन्थले जानकारी गराउनु भयो । त्यस्तै दोस्रो दिन प्रदेशको स्थायी राजधानी दाङको देउखुरीमा मुल समारोह गर्ने सरकारले तयारी गरेको छ ।

राप्ती उपत्यका देउखुरीको राप्ती प्राबिधिक शिक्षालय परिसरमा हुने मुल समारोहमा प्रदेश प्रमुख, सभामुख, उपसभामुख, प्रदेश सरकारका मन्त्रीहरु, उच्च अदालतका मुख्य न्यायाधिश, प्रदेश सभा सदस्यहरु, जिल्ला समन्वय समितिका प्रमुखहरु, प्रमुख सचिव, सचिवहरु, कार्यालयका प्रमुखहरु, स्थानीय तहका जनप्रतिनीधिहरु, सुरक्षा निकायका प्रमुखहरु, संघसंस्थाका पदाधिकारीहरु लगायत सहभागि हुने सचिव पन्थले बताउनु भयो । उक्त समारोहलाई मुख्यमन्त्री शंकर पोखरेलले सम्बोधन गर्ने कार्यक्रम तय गरिएको छ ।

सो अवसरमा प्रदेश सरकारले घोषणा गरेका पदकबाट सम्बन्धित व्यक्तिलाई सुशोभित गरिने र प्रदेश भित्रका कला संस्कृति झल्कीने झाँकीहरु समेत प्रदर्शन गरिने कार्यक्रम रहेको छ ।
त्यस्तै तेस्रो दिन प्रदेश भित्रको कुनै एक स्थालनमा हिउँदे फलफूलका बृक्षारोपण गर्ने तयारी गरिएको छ । बृक्षारोपणको लागि उद्योग बन तथा वातावरण मन्त्रालय र भूमिव्यबस्था कृषि तथा सहकारी मन्त्रालयललाई सरकारले जिम्मेवारी दिएको छ ।

त्यस्तै प्रदेश स्थापना दिवसको अवसरमा तीन दिन दीपावली गरिने छ । प्रदेश स्थापना दिवसको अवसरमा माघको २, ३ र ४ गते प्रदेश स्थित सरकारी कार्यालय, सामुदायिक संघसंस्था र वित्तिय संघसंस्थाको कार्यालयहरुमा साँझ दीपावली गरिने उहाँले जानकारी दिनुभयो ।

You might also like