केही स्वार्थी व्यक्तिहरु बाहिरिएपछि पार्टी थप ससक्त र अनुशासित –प्रधानमन्त्री ओली सुर्य चिन्ह आफुलेनै पाउने दाबी

बुटवल,१ फागुन
प्रधानमन्त्री तथा नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो नेतृत्वको सरकारले अगाडी सारेको विकास र समृद्धिको योजनाबाट अत्तालिएर देशी विदेशी शक्तिहरु सरकार ढाल्ने अभियानमा लागेकोले संसद विघटन गर्नु परेको प्रष्टिकरण दिनुभएको छ ।
नेकपा ओली समूहको लुमिबनी प्रदेश कमिटीद्धारा शनिबार बुटवलमा आयोजित सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मुलुकको विकास र समृद्धि देख्न नचाहने देशी विदेशी शक्तिहरु र पार्टी भित्रैबाट सरकार ढाल्ने अभियानमा लागेकोले संसद विघटन गर्नुपरेको प्रष्टीकरण दिनुभएको हो ।
उहाँले भन्नुभयो ‘बिरोधिहरु यत्तिकै आत्तिएका होइनन् हामिले गरेको असाधारण विकासबाट आत्तिएर सरकार ढाल्ने अभियानमा लागेका हुन् ।’
आफ्नो नेतृत्वमा सरकार बनेपछि सडक,पुल निर्माणमा ऐतिहासिक काम भएको र मुलुक विकास र समृद्धिको बाटोमा अगाडी बढेको भन्दै ओलीले सरकारले यहि गतिमा काम गर्दै गए आगामी चुनावमा आफुहरुको बाकस रित्तो हुने डरले देशी विदेशी शक्ति अत्तालिएर सरकार ढाल्ने षडयन्त्रमा लागेको दाबी गर्नुभयो ।
केही स्वार्थी व्यक्तिहरु बाहिरिदैमा पार्टी कमजोर नहुने भन्दै प्रधानमन्त्री ओलीले पार्टीमा रहेका केही स्वार्थी व्यक्तिहरु बाहिर गएपछि पार्टी अनुशासित र थप ससक्त भएको बताउनुभयो ।
हिजो पार्टी भित्रै रहेर बिरोध गर्थे अहिले पार्टी छाडेर सडकबाट बिरोध गरेका छन्् प्रधानमन्त्री ओलीले भन्नुभयो– पार्टीमा बसेर पार्टीलाई बदनाम गर्ने,अनुशासनहीन पार्टीको रुपमा चित्रित गर्ने काम गर्नेहरु पाटी छोडेर जादैमा आत्तिनुपर्ने अवस्था छैन बरु पार्टी थप ससक्त भएको छ ।’
मुलुकको समृद्धि र विकासको लागि नभएर पार्टीका केहि स्वार्थी व्यक्तिहरुले पदका लागि पार्टीमा बिवाद उत्पन्न गरेको आरोप बताउदै उहाँले विकास र समृद्धिको नेतृत्व गर्ने केपी ओलीलाई लखेट्ने बाहेक उनिहरुसँग केही एजेडा नभएको आरोप लगाउनुभयो ।
प्रचण्ड–नेपाल समूहको नेकपातर्फ लक्षीत गदै प्रधानमन्त्री ओलीले केही एजेण्डा नभएपछि आमसभा गरेर गाली पुराणमा उत्रिएको बताउनुभयो ।
देशभरीबाट केहि मान्छे काठमाण्डौ लगेर प्रचण्ड–माधव समूहले सभा कस्तो हुन्छ हेर्न आउन आफुलाई भनेको भन्दै ओलीले देशभरीका मान्छे जम्मा गरेको सभा नभएर लुम्बिनी प्रदेशको सभा हेर्न बुटवल आउन चुनौती दिनुभयो ।
सुर्य चिन्ह कस्को भन्ने बिषयमा कुनै विवाद नभएको भन्दै ओलीले,सुर्य चिन्ह दर्ता गराउने आफुहरुनै भएकाले निर्वाचन आयोगले आफुहरुलाईनै दिने दाबी गर्नुभयो ।
आफु अहिलेसम्म सुर्य चिन्ह बाहेक अरु चिन्हबाट चुनाव नलडेको भन्दै ओलीले कहिल्यै सुर्य चिन्हबाट चुनाव नलडेको प्रचण्डले नेतृत्व गरेको पार्टीको चुनाब चिन्ह सुर्य कि नेकपा एमाले दर्ता भएर चुनाबमा गएदेखि लगातार सुर्य चिन्हबाट चुनाव लडेको व्यक्तिले नेतृत्व गरेको पार्टीको चुनाव चिन्ह सुर्य भनि प्रश्न गर्नुभयो ।

ताजा जनादेशमा जाने बिषयलाई प्रतिगमन भनेर चित्रित गर्ने प्रयास गरेको भन्दै उहाँले जनतामा जाने कुरालाई प्रतिगमन भनेर कस्तो लोकतन्त्र खोज्नु भएको हो भनि प्रश्न गर्नुभयो ।
उहाँले संसद विघटन संविधान बिपरित नभएर संविधान सम्मत रहेको दाबी समेत गर्नुभयो ।
सडकमा केही मान्छे देखाएर जनता संसद विघटनको विपक्षमा छन् भन्ने देखाउन खोजेको भन्दै जनता कस्को पक्षमा छन भन्ने कुरा सडकमा टाउको गनेर नभएर मतपत्र गनेर फैसला हुने विचार व्यक्त गर्नुभयो ।
आगामी निर्वाचनमा आफु नेतृत्वको नेकपाले समानुपातिक तर्फ ५० लाख मत र प्रत्यक्षतर्फ बहुमत सिट ल्याउने ओलीको दाबी छ ।
निर्मला हत्या काण्ड र भागरथी हत्यामा संलग्नहरुलाई पानिमुनि गएर भए पनि कानूनी दायरामा ल्याएरै छाड्ने भन्दै ओलीले मुलुकमा शान्ति सूरक्षाको अवस्था थप मजवुद बनाइने बताउनुभयो ।

नेकपा ओली समूहका महासचिव विष्णु पौडेलले नेकपा पार्टी नफुटेको भन्दै केही स्वार्थी तत्व चोइटिएर गएको बताउनुभयो ।
प्रतिपक्षीले समेत बिरोध गर्न नसकेको अवस्थामा पार्टी भित्रैबाट सरकारको बिरोध भएको भन्दै महासचिव पौडेलले सरकारलाई काम गर्न नदिएको आरोप लगाउनुभयो ।
घोषित मितिमा चुनाव भएरै छाड्ने भन्दै महासचिव पौडेलले दुनियाको कुनै पनि शक्तिले चुनाव रोक्ने नसक्ने दाबी गर्नुभयो ।
केपी ओलीको नेतृत्वमा मुलुक समाजवादमा पुग्ने बताउदै उहाँले अझै एक कार्यकाल पार्टी अध्यक्ष र प्रधानमन्त्रीको पद सम्हाल्न प्रम ओलीलाई आग्रह गर्नुभयो ।
पार्टीका स्थायी कमिटी सदस्य तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले लुम्बिनी प्रदेशले बुटवलबाट राष्ट्रलाई सन्देश दिदै आएको स्मरण गर्दै यो सभाले लुम्बिनी प्रदेशका जनता चुनावको पक्षमा छन् भन्ने सन्देश दिएको बताउनुभयो । उहाँले वैशाखमा चुनाव हुने मात्रै नभएर पहिलेभन्दा धेरै सिट ल्याउने र रुकुम र रोल्पामा समेत चुनाव जित्ने दाबी गर्नुभयो ।
स्थायी कमिटी सदस्य टोप बहादुर रायमाझी सरकार छाडेर सडकमा गएका नेकपाका केही साथीहरुले फैलाएको भ्रम चिर्न जनसभा आयोजना गरिएको बताउनुभयो ।
नेकपा ओली समूहका लुम्बिनी प्रदेश संयोजक लिला गिरीको अध्यक्षतामा सम्पन्न सभामा पार्टीका स्थायी कमिटी सदस्य लेखराज भट्ट,स्थायी कमिटी सदस्य छविलाल विश्वकर्मा, केन्द्रीय सदस्य राधा ज्ञवाली,रुपन्देही संयोजक शिवराज सुवेदी लगायतले आ आफ्नो भनाई राख्नुभएको थियो ।

You might also like