संसद् विघटनविरुद्ध प्रचण्ड–माधव समूहद्धारा मानव साङ्लो बनाएर टुँडिखेल घेराउ

काठमाडौं, ६ फागुन ।
संसद् विघटनको विरोधमा आन्दोलनरत नेकपा प्रचण्ड–माधव समूहले चौथो चरणको आन्दोलन सुरु गरेको छ । चौथो चरणको आन्दोलनको पहिलो कार्यक्रम अन्तर्गत सो समूहले बिहीबार मानव साङ्लो बनाएर टुँडिखेल घेराउ गरेको छ ।

पुस ५ मा प्रतिनिधिसभा विघटन भएपछि चरणबद्ध आन्दोलन गरिरहेको सो समूहले माघ २८ मा काठमाडौंमा जनसभा गरेर तेस्रो चरणको आन्दोलन अन्त्य गरेको थियो । त्यसपछि सो समूहले फागुन १५ सम्मको चौथो चरणको आन्दोलन घोषणा गरेको छ ।

नेकपा प्रचण्ड–माधव समूहका स्थायी कमिटी सदस्य तथा केन्द्रीय सङ्घर्ष समितिका सहसंयोजक योगेश भट्टराईले प्रतिगमन तथा असंवैधानिक कदमका विरुद्ध टुँडिखेलमा मानव साङ्लोले घेरिएको बताउनुभयो ।

मानव साङ्लोमा नेकपाका नेता, कार्यकर्ताको उपस्थिति रहेको थियो । कार्यक्रममा प्रतिनिधि सभाको असंवैधानिक कदम खारेज गर, भ्रष्टाचारीलाई कारबाही गर, बलात्कारीलाई कारबाही गर, प्रतिगमन मुर्दावादलगायतका विभिन्न प्लेकार्ड तथा ब्यानरहरू प्रस्तुत गरिएका थिए भने नेता कार्यकर्ताहरूले पार्टीको झण्डा र सूर्य चिह्न पनि बोकेका थिए ।

संसद् विघटन असंवैधानिक भएको भन्दै सो समूह सहित नेपाली कांग्रेस लगायतका दलहरुले राजधानी उपत्यका सहित देशका ठूला शहरहरुमा जनप्रदर्शन गर्दै आएका छन् ।

You might also like