बुटवलबाट पक्राउ परेका विप्लव समूहका दुई नेतालाई तत्काल रिहा गर्न मोर्चाको माग

बुटवल,७ फागुन ।
बिहिबार बुटवलबाट पक्राउ परेका नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका दुईजना नेताहरुलाई तत्काल रिहा गर्न रणनैतिक संयुक्त मोर्चाले माग गरेको छ ।

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा सहित चार दलीय रणनैतिक संयुक्त मोर्चाले शुक्रबार बुटवलमा पत्रकार सम्मेलनको आयोजना गरी पक्राउ परेका विप्लव समूहका नेताद्वय भेषराज भुसाल र देवबहादुर केसीलाई तत्काल रिहा गर्न माग गरेको हो ।

विप्लव समूहसहितका चार दलीय रणैतिक मोर्चाद्धारा बिहीबार बुटवलमा आयोजित सभामा सहभागी भएर फर्कीदै गरेका नेता भुसाल र केसीलाई प्रहरीले बुटवलको मिलनचोकबाट पक्राउ गरेको हो ।
मोर्चाका नेताहरु रामसिंह श्रीस र ऋषिराम कट्टेलले संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै पक्राउ परेका नेताहरुको रिहाइमा पहल गरिदिन मानवअधिकारवादी संघसंस्था, सञ्चार जगत र नागरिक समाजसँग अपील गरेका छन् ।

शान्तिपूर्ण सभामा सहभागी भएर विचार व्यक्त गरेको आधारमा पक्राउ गर्नु अभिव्यक्ति स्वतन्त्रता माथिको हस्तक्षेप र निरंकुश कदम भएको विज्ञप्तिमा उल्लेख छ ।

कार्यक्रममा मोर्चाका केन्द्रिय सदस्य रामसिंह श्रीसले क्रान्तिकारीहरुको एकताबाट सरकार तर्सिएको भन्दै नेताहरुको गिरफ्तारी सरकारको हतास मानसिकताको उपज भएको टिप्पणी गर्नुभयो ।

मोर्चाका अर्का केन्द्रिय सदस्य ऋषिराम शर्मा कट्टेलले नागरिकलाई स्वतन्त्रतापूर्वक आफ्नो अभिव्यक्ती राख्न समेत नदिएको भन्दै सरकारको यस्तो कदमले देशमा अर्को युद्ध निम्त्याउने बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालयको भैरहवामा राखिएका नेता भुषाल र उनीसँगै पक्राउ परेका देबबहादुर केसीको अवस्था बुझ्न रणनैतिक मोर्चाका केन्द्रिय सदस्य, मानवअधिकारकर्मी, वकिल र पत्रकारको समुह जिल्ला प्रहरी कार्यालय भैरहवामा पुगे पनि भुषाललाई काठमाण्डौं पठाइएको रुपन्देहीका प्रहरी प्रमुख एसपी प्रविन पोखरेलले जानकारी गराउनुभएको थियो ।

भुषाल बिरुद्ध देशभर ५ बटा मुद्दा रहेको र उनलाई काठमाडौं पठाईएको एसपी पोखरेलले जानकारी दिएको मोर्चाका नेतहरुले बताए ।

काठमाडौं कहाँ राखिएको भन्नेबारे प्रहरी स्रोतले परिवारलाई समेत जानकारी नदिएको पारिवारिक स्रोतले जनाएको छ ।

You might also like