अदालतको आदेश बमोजिम संसद् बोलाउने ओली समूहको निर्णय

काठमाडौं,१२ फागुन ।
नेकपा ओली समूहले सर्वोच्च अदालतको आदेश बमोजिम निर्धारित समयमै संसद् बोलाउने निर्णय गरेको छ ।

आज बसेको नेकपा ओली समूहको स्थायी कमिटी बैठकले सर्वोच्च अदालतले गरेको फैसला स्वीकार गर्ने निर्णय गरेको होे ।

अदालतको फैसला स्वीकार्दै अदालतले तोकेको समयसीमा भित्रै संसद्को बैठक बोलाउने निर्णय भएको ओली समूहका प्रवक्ता एवम् परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले जानकारी दिनुभयो।

बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै ज्ञवालीले भन्नुभयो–‘संसद अधिवेशन निर्धारित समयमै आह्वान गर्ने निर्णय भएको छ । फैसलाले दिएको समयसीमा भित्रै बैठक बस्छ ।’
त्यस बीचमा अन्य राजनीतिक दलहरुसँग पनि छलफल हुने उहाँले बताउनुभयो ।

राजधानीमा उपलब्ध स्थायी कमिटी सदस्यहरुको बैठकले चारवटा निर्णय गरेको जानकारी दिदै ज्ञवालीले अनपेक्षित भएपनि शक्ति पृथकीकरणको सिद्धान्त मान्ने पार्टी भएकाले सर्वोच्चको फैसला स्वीकार्दै कार्यान्वयनमा लैजाने निर्णय भएको प्रतिक्रिया दिनुभयो ।

यो फैसलापछि पार्टीको अवस्थाबारे थप छलफल गर्न केन्द्रीय कमिटी र संसदीय दलको बैठक बोलाउने निर्णय भएको पनि उहाँले बताउनुभयो । ‘समग्र परिस्थितिको छलफल गर्न केन्द्रीय कमिटी बैठक र दलको बैठक छिटै बोलाइनेछ’, ज्ञवालीले भन्नुभयो ।

बैठकले यो समूहले देशका विभिन्न स्थानमा तय गरेको सभाहरुलाई निरन्तरता दिने पनि निर्णय गरेको छ । केही ठाउँको कार्यक्रमको स्वरुप फेरिए पनि आफ्नो कुरा राख्न सभा गर्ने निर्णय भएको उहाले बताउनुभयो ।

प्रधानमन्त्रीले नैतिकताको आधारमा राजीनामा दिनुहुन्छ भन्ने सञ्चारकर्मीको प्रश्नमा ज्ञवालीले भन्नुभयोे, ’हामी दलहरुसँग छलफलमा छौं । उहाँहरुका कुरा पनि सुनेका छौं । मुलुकलाई अन्योलमा राख्न हुँदैन भन्ने हाम्रो भनाई हो । प्रधानमन्त्रीले जे गर्दा देशको लागि सबैभन्दा उपयुक्त हुन्छ त्यो गर्नुहुन्छ, आवश्क परामर्शपछि ।’

सो समूहको स्थायी कमिटी बैठक बिहीबार पनि बस्ने जनाइएको छ ।

संसद् विघटनको निर्णय बदर गर्दै सर्वोच्च अदालतले मंगलबार १३ दिनभित्र बैठक बोलाउन आदेश दिएको थियो ।

You might also like