थप ११२ जनामा कोरोना संक्रमण,८४ जना डिस्चार्ज

काठमाण्डौ,१३ फागुन ।
नेपालमा बिहीबार थप एक सय १२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा तीन हजार चार सय ११ जनाको पीसीआर परीक्षण गर्दा थप एक सय १२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यससँगै नेपालमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या दुई लाख ७३ हजार आठ सय ७२ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा थप ८४ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् ।

नेपालमा हालसम्म दुई लाख ७० हजार दुई सय २३ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् ।

पछिल्लो २४ घण्टामा थपिएका समेत गरी अहिलेसम्म नेपालमा मृत्यु हुने कोरोना संक्रमितको संख्या दुई हजार सात सय ६७ पुगेको छ ।

यसैबीच सरकारले कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएकाहरुको संख्यामा ८२ जनाको विवरण थप गरेको छ । बुधवार ६ सय १८ जनाको विवरण थपेको सरकारले बिहीवार ८२ जनाको विवरण थप गरेको हो ।

विभिन्न अस्पताल, पालिका र अन्य जिम्मेवार निकायबाट आएका तथ्याङ्क विश्लेषण गरेर मृतकको विवरण थपिएको स्वास्थ्य मन्त्रालयका सह–प्रवक्ता समिर अधिकारीले जानकारी दिनुभयो ।

बुधवारदेखि तथ्याङ्क विश्लेषण गर्ने र एक वर्षयताका विभिन्न ’केस’ लाई पूर्णरूपमा अध्ययन गर्न थालिएको अधिकारीले बताउनुभयो ।
कोरोना संक्रमितको संख्या अझै धेरै देखिन सक्ने उहाँको अनुमान छ ।

You might also like