कानून निर्माण भन्दा कार्यान्वयन र प्रभावकारीतामा ध्यान दिनुपर्नेमा जोड

बुटवल,१७ फागुन ।
प्रदेश सभा कानून निर्माणमा भन्दा पनि कानून कार्यान्वयन र त्यसको प्रभावकारीतामा ध्यान दिनुपर्ने सरोकारवालाहरुले जोड दिएका छन् ।

संसदीय मामिला पत्रकार समाज लुम्बिनी प्रदेशद्धारा सोमबार बुटवलमा आयोजित ‘प्रभावकारिता र खुलापनको कसीमा लुम्बिनी प्रदेश सभा’ बिषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै सरोकारवालाहरुले उक्त कुरामा जोड दिएका हुन् ।

कार्यक्रममा लुम्बिनी प्रदेश सभाका सभामुख पूर्ण बहादुर घर्तीले कानून निर्माणमा अन्य प्रदेशभन्दा लुम्बिनी प्रदेश अग्रस्थानमा रहे पनि कानूनको प्रभावकारी कार्यान्वयनमा भने सन्तुष्ट हुनसक्ने अवस्था नभएको बताउनुभयो ।

कानून निर्माण गर्नुमात्रै महत्वपूर्ण नभएर बनेका कानूनको कार्यान्वयन र त्यसको प्रभावकारीता महत्वपूर्ण रहेछ भन्ने कुरा बिगत तीन बर्षको अनुभवले सिकाएको भन्दै सभामुख घर्तीले अब कानून निर्माणमा भन्दा पनि कस्ता कानून निर्माण गर्दा जनतालाई फाइदा हुन्छ भन्ने बिषयमा ध्यान दिनुपर्ने समय आएको विचार व्यक्त गर्नुभयो ।

उपसभामुख कृष्णी थारुले पनि कति कानून बन्यो भन्दा पनि अव निर्माण भएका कानून कति प्रभावकारी भए भन्ने बिषयमा छलफल गर्नु आवस्यक रहेको बताउनुभयो ।

प्रदेश सभा कृषि,वन तथा वातावरण समितिका सभापति विजयबहादुर यादवले प्रदेश सरकारले निर्माण गर्ने कानून संघीय कानूनको फोटोकपि जस्तै हुने गरेको भन्दै प्रदेश सरकारले बनाएका विधेयकमा समेत नेपाल सरकार भनेर उल्लेख भएको उदाहरण दिनुले कानून निर्माणमा जिम्मेवार निकायबाटै जिम्मेवारी निर्वाह गरेको पाइएको जानकारी गराउनुभयो ।

कार्यक्रममा प्रदेश सभा सदस्य भोज प्रसाद श्रेष्ठ,बिष्णु पन्थी,कल्पना पाण्डे लम्साल र पुरमती ढेंगाले कतिपय कानूनका कारण कानून कार्यान्वयनमा जटिलता आउने गरेको भन्दै कार्यान्वयनमा सहजता हुने खालका कानून निर्माण गर्नुपर्ने आजको आवस्यकता भएको बताउनुभयो ।

प्रदेश सभाबाट धेरै कानून निर्माण भए पनि कार्यान्वयनमा नआएको भन्दै उहाँहरुले आवस्यकताको आधारमा कानून निर्माण गर्नुपर्नेमा जोड दिनुभयो ।

मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय बरिष्ठ उपसभापति गोविन्द खनालले मुलुकमा सुशासन कायम गर्न नागरिक समाजको भूमिका स्वतन्त्र हुनुपर्ने भन्दै पछिल्लो समय नेपालमा नागरिक समाजको स्वतन्त्र भूमिकामाथि प्रश्न उठन थालेको बताउनुभयो ।

कार्यक्रममा मनिकर कार्कीले संसदीय कामकारबाहीमा जनसहभागिताको सवाल र युवराज कंडेलले लुम्बिनी प्रदेश सभाका संसदीय समितिको प्रभावकारिता बिषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

संसदीय मामिला पत्रकार समाज लुमिबनी प्रदेश अध्यक्ष विष्णु घिमिरेको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रदेशसभा सचिवालयका सचिव दुर्लभ कुमार पुन मगर,संसदीय मामिला पत्रकार समाज लुमिबनी प्रदेश उपाध्यक्ष अमृता अनमोल,सचिब सिपी खनालले कार्यक्रमको उदेस्य र औचित्यमाथि प्रकास पार्नुभएको थियो ।

You might also like