सरकार र विप्लव नेतृत्वको नेकपाबीच पहिलो चरणको वार्ता सम्पन्न

काठमाडौं,१९ फागुन ।
सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाबीच पहिलो चरणको वार्ता सम्पन्न भएको छ ।

वार्ताका लागि नेत्रविक्रम चन्द विप्लव समूहको वार्ता टोली सदस्यद्धय बुधबार विहानै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पुग्नुभएको थियो ।

पहिलो दिन भएको वार्ता सकारात्मक भएको सरकारी वार्ता टोलीका सदस्य एवं प्रधानमन्त्रीका विदेशमामिला सल्लाहकार राजन भट्टराईले जानकारी दिनुभयो ।
वार्ताको अर्को मिति तोकिएको छैन । तर छिट्टै वार्तामा बस्न दुबै पक्ष सहमत भएको स्रोतको दाबी छ ।

मंगलबार मात्र सरकारले गृहमन्त्री रामबहादुर थापा र प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई तथा विप्लव समूहले खड्गबहादुर विश्वकर्मा प्रकाण्ड र उदयबहादुर चलाउने ‘दिपक’ रहेको वार्ता टोली गठन गरेको थियो ।

विप्लव समूहका नेताहरुले ‘राष्ट्रिय स्वाधिनता र जनताका जनजीविकाका बारेमा विद्रोहीले राखेका प्रस्ताव र सर्तमा राज्य पक्ष सकरात्मक भए वार्ता अघि बढ्छ र त्यो संयुक्त सरकारसम्म पुग्न सक्ने’ बताएका छन् ।

संसद विघटनको प्रयासपछि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा फुट आएका वेला प्रधानमन्त्री केपी शर्मा ओलीले विप्लवसँग सम्वादको प्रयास थाल्नुभएको थियो । पटकपटकको अनौपचारिक छलफलपछि दुवै पक्षबाट वार्ता समिति गठन भएको थियो ।

ठोस छलफलमा बस्नुअघि प्रतिबन्ध फुकुवा, पक्राउ परेका नेता, कार्यकर्ताको रिहाइ हुनुपर्ने र औपचारिक पत्र पठाउनुपर्ने माग विप्लवका नेताहरुले राख्दै आएका थिए । तर, ती मागहरु पूरा हुनु अगावै बुधबार दुवै पक्ष वार्ताको टेबलमा देखिएका छन् ।
वार्तामा के के भयो भन्ने विषयमा दुवै पक्षले विस्तृतमा खुलाएका छैनन् ।

You might also like