पुनर्स्थापित संसदको पहिलो बैठकमै बिवाद

कांग्रेसको अबरोध र प्रचण्ड–नेपाल समूहको बहिष्कारपछि संसद् बैठक स्थगित

काठमाण्डौ,२३ फागुन ।
सर्वोच्च अदालतबाट पुनस्र्थापित भएपछि बसेको प्रतिनिधि सभाको पहिलो बैठकमै बिवाद उत्पन्न भएको छ ।

बैठकमा सरकारले यसअघि जारी गरेका अध्यादेश संसदमा पेशगर्ने कार्यसूची राखेको बिषयलाई लिएर बिवाद उत्पन्न भएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेर जारी गरेका अध्यादेश संसदमा पेस हुन नहुने भन्दै प्रचण्ड–नेपाल समूहका सांसदले बैठक बहिष्कार गरेका थिए भने अध्यादेशकै बिषयलाई लिएर नेपाली कांग्रेसले पनि बैठक अबरुद्ध गरेको थियो ।

सांसद भीम रावलले सरकारले मन्त्रिपरिषद् पुनर्गठन गर्ने र अध्यादेश ल्याउने कानुनी अधिकार गुमाएकाले राष्ट्रपतिबाट आएको पत्र पढेर सुनाउन नमिल्ने बताउनुभयो ।
नेकपा दलको आधिकारिकता सम्बन्धमा सर्वोच्च अदालतले आजै गरेको फैसला तर्फ संकेत गर्दै रावलले सरकारको बैधानिकतामा प्रश्नचिन्ह खडा भएको बेला सरकारलाई अध्यादेश ल्याउने अधिकार नभएको दाबी गर्नुभयोे ।

तर सभामुख अग्निप्रसाद सापकोटाले पत्र पढेर सुनाउन लागेपछि प्रचण्ड–नेपाल पक्षका सांसदले बैठक बहिष्कार गरेर बाहिरिएका हुन् ।

सरकारले संवैधानिक परिषदसम्बन्धी अध्यादेश ल्याएको विरोधमा नेपाली कांग्रेसले संसदको रोस्टम घेराउ गरेर बिरोध जनाए ।

कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडले संवैधानिक परिषदसम्बन्धी सरकारले ल्याएको अध्यादेश संविधानको मूल्य मान्यता बिपरित रहेको भन्दै त्यस्तो अध्यादेश संसदमा पेश गर्न नमिल्ने जिकिर गर्नुभयो ।

संविधानको प्रतिकूल हुने अध्यादेश फिर्ता लिन समेत उहाँले माग गर्नुभयो ।
कांग्रेसको अबरोधपछि १० मिनेटका लागि स्थगित भएको बैठक फेरी पुन बस्ने अवस्था नभएपछि सूचना टास गरेर २६ गतेसम्मका लागि स्थगित भएको छ ।

You might also like