बुटवलमा थ्रि स्टार लेवलको ‘होटल द फ्यामिंगो’ सञ्चालनको तयारीमा

बुटवल,२४ फागुन ।
बुटवलमा थ्रि स्टार लेवलको ‘होटल द फ्यामिंगो’ सञ्चालनमा आउन लागेको छ ।

बुटवलका युवा व्यवसायी दिलिप गौचनको करिब २० करोड लगानीमा बन्दै गरेको ‘होटल द फ्यामिंगो’ यही फागुन २७ गते शिवरात्रीका दिनदेखि सञ्चालनमा ल्याउने तयारी रहेको सञ्चालकले बताएका छन् ।

होटल व्यवस्थापनले आज पत्रकार सम्मेलनको आयोजना गरी हस्पिटालिटी क्षेत्रमा गुणस्तरीय र उदाहरणीय सेवा प्रदान गर्ने लक्ष्यसहित स्थापित भएको होटल यही फागुन २७ गते शिवरात्रीको दिनबाट सफ्ट ओपनिङ हुने जानकारी गराएको हो ।

हस्पिटालिटी क्षेत्रमा नयाँ सुबिधा प्रदान गर्ने गरि होटलको उच्च व्यवस्थापन टिम तयार गरेको पत्रकार सम्मेलनमा जानकारी दिईएको छ ।

बिशेष सेवा र सुबिधा सहित सञ्चालनको तयारीमा रहेको ‘होटल दा फ्यामिंगो’ को सञ्चालनका लागि हस्पिटालिटी क्षेत्रमा लामो अनुभव संगालेका व्यक्तिहरुलाई नियुक्त गरिसकेको सञ्चालक गौचनले जानकारी दिनुभयो ।

‘लामो समयको प्रतिक्षापछि बुटवल क्षेत्रकै उत्कृष्ट होटल हामीले सञ्चालनमा ल्याउन सफल भएका छौं,’ उहाँले भन्नुभयो, ‘यो होटल आन्तरिक तथा बाह्य पर्यटकको रोजाईमा पर्नेमा हामी विश्वस्त छौं ।’

बुटवल क्षेत्रमा स्तरीय कार्यक्रम गर्न, पार्टी तथा सेमिनार आयोजना गर्नका लागि पनि होटल उचित गन्तव्य बन्ने उहाँको विश्वास छ । बुटवलको योगीकुटीमा निर्माण भएको होटलको सफ्ट ओपनिङका लागि सम्पूर्ण तयारी पुरा भएको महाप्रवन्धक काशीराम अधिकारीले जानकारी दिनुभयो ।

संचालक गौचनका अनुसार होटलमा ४ सय जना क्षमताको एउटा बेङ्केट हल रहेको छ भने २ वटा कन्फ्रेन्स हल छन् । एक कन्फरेन्स हल सय जना क्षमताको र अर्को ३० जना क्षमताको रहेको छ । त्यसैगरी होटलमा स्विमिङ पुल, जिम, स्पा, साउना, स्टिम, प्रशस्त पार्किङ क्षेत्र, मनोरम बुटवलको दृश्य अवलोकन गर्ने स्थान लगायतका सेवा तथा विशेषता रहेको जनाइएको छ ।

होटलमा रहेको लाफेवा रेष्टुरेन्टमा ७० जनाको क्षमता रहनेछ भने क्याफे टोरियो फोरमा कफी, बेकरी आइटमको सुविधा उपलब्ध हुनेछ । भर्टिगो रुफटप बारमा ४० जना क्षमताको रहेको छ ।

होटलले सेवा र व्यवसायसँगै समय सापेक्ष सामाजिक क्षेत्रमा पनि योग्दान पुर्याउने जनाएको छ । होटल सञ्चालनको पूर्वसन्ध्यामा रक्तदान कार्यक्रम आयोजना गरेको र होटलका परिकारहरु आश्रममा रहेका अपाङ्गता भएका व्यक्तिहरुलाई खुवाई सकेको महाप्रबन्धक काशीराम अधिकारीले बताउनुभयो ।

भैरहवामा निर्माण सम्पन्न हुने चरणमा रहेको अन्तराष्ट्रिय विमान स्थल र लुम्बिनीको पर्यटकलाई मध्यनजर राख्दै धमाधम होटल खुलिरहेको रुपन्देहीमा हस्पिटालिटी क्षेत्रमा उदाहरणीय सेवा प्रदान गर्ने लक्ष्यसहित एउटा नयाँ सुबिधा सम्पन्न ‘होटल दा फ्यामिंगो’ थपिन लागेको हो । चैत्रको पहिलो हप्ता सम्ममा लुम्बिनी प्रदेशको मुख्य शहर बुटवलमा ‘होटल दा फ्यामिंगो’ पूर्ण रुपमा संचालनमा आउने जनाइएको छ ।

You might also like