तत्काल एमालेको बैठक बोलाउन नेपाल पक्षका स्थायी कमिटी सदस्यको माग

काठमाण्डौ,२७ फागुन ।
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनालपक्षले तत्काल पार्टीको बैठक बोलाउन माग गरेको छ ।

नेपालको निवास कोटेश्वरमा बिहिबार बसेको स्थायी कमिटीका सदस्यको भेलाले सर्वोच्चको आदेशअनुसार एमाले पुनःस्थापित भइसकेको यतिका दिन भइसक्दासमेत अध्यक्ष केपी शर्मा ओलीले बैठक नबोलाउनु र छलफलसमेत नगर्नु चिन्ताको विषय भएको भन्दै तत्कालै बैठकको माग गरेको उपाध्यक्ष भीम रावलले जानकारी दिनुभयो ।

बैठकमा नेता नेपाल निकट १३ जना स्थायी कमिटी सदस्यको सहभागिता रहेको जनाइएको छ ।
अध्यक्ष ओलीले बैठक बोलाएर पार्टीलाई गतिशील बनाउनुपर्ने भन्दै बैठकले त्यसो नभए अवस्था फेरि तनावपूर्ण हुनसक्नेमा सचेत गराएको छ ।

ओली पक्षले विभिन्न ठाउँमा माधव नेपाल पक्षका नेता कार्यकर्तामाथि दुव्र्यवहार गरिरहेको र त्यस्ता क्रियाकलाप तत्कालै रोक्न पनि बैठकले माग गरेको नेता रावलले जानकारी दिनुभयो ।
अध्यक्ष केपी शर्मा ओली पक्षद्धारा पेल्ने संकेत मिलेपछि त्यसै अनुसारको रणनीति तय गर्ने विषयमा छलफल भएको पनि नेताहरुले जनाएका छन् ।

सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी ब्युँताएपछि एमालेको औपचारिक बैठक बस्न सकेको छैन ।

You might also like