प्रदेश विश्वविद्यालय स्थापना सम्बन्धी विधेयकको प्रतिवेदनलाई समितिद्धारा अन्तिम रुप दियो

बुटवल,४ चैत ।
लुम्बिनी प्रदेश सभामा गठित सामाजिक विकास समितिले प्रदेश विश्वविद्यालय स्थापना,सञ्चालन,नियमन र व्यवस्थापन गर्न बनेको विधेयकको प्रतिवेदनलाई अन्तिम रुप दिएको छ ।

सामाजिक विकास मन्त्री सुदर्शन बराल र सचिव महादेव पन्थसहित बुधबार बसेको समितिको बैठकले विधेयकमाथिको दफावार छलफलका क्रममा संशोधन गर्नुपर्ने भनि उठेका बिषयवस्तुहरु समेत छलफल गरी प्रतिवेदनलाई अन्तिम रुप दिइएको हो ।

समितिका सभापति दृग नारायण पाण्डेले विधेयकको महत्वलाई दृष्टिगत गरी विज्ञहरुसहित छ वटा बैठक बसेर विधेयकको प्रतिवेदनलाई अन्तिम रुप दिइएको जानकारी दिनुभयो ।

विधेयकमा समावेश गर्नुपर्ने बिषयहरु समेत समावेश भएको प्रतिवेदनलाई समितिले अन्तिम रुप दिएसँगै अब प्रदेश सभाबाट पारित हुने सामाजिक विकास मन्त्री सुदर्शन बरालले बताउनुभयो ।

प्रदेश विश्वविद्यालय स्थापना गर्न प्रदेश सरकारले गत आर्थिक बर्षमै बजेट विनियोजन गरे पनि कानूनको अभावका कारण कार्यान्वयन हुन नसकेको भन्दै मन्त्री बरालले प्रदेश सभाले विधेयक पारित गरेपछि विश्वविद्यालय स्थापना गर्ने कार्यले मूर्त रुप लिने विश्वास व्यक्त गर्नुभयो ।

समितिका सभापति दृगनारायण पाण्डेको सभापतित्वमा सम्पन्न बैठकमा समितिका सदस्यहरु डा. पुरनमान बज्राचार्य,अर्जुन कुमार केसी,तेज बहादुर वली,रीना नेपाल विश्वकर्मा,दीपा वि क,कमलादेवी वि क ले विधेयकमाथिको दफावार छलफलमा सहभागिता जनाउनुभएको थियो ।

छलफलमा उठेका बिषयबस्तुहरुलाई समावेश गरेर तयार पारिएको प्रतिवेदन सहितको विधेयक आगामि प्रदेश सभाको बैठकमा पेश हुने समितिका सचिव पुनाराम पौडेलले जानकारी दिनुभयो ।

नेकपाको एकता सर्वोच्च अदालतले खारेज गरेपछि प्रदेश सभाको बैठक कहिले बस्ने भन्ने अझै अन्यौल रहेको छ ।

You might also like